विराटनगरका बैंकर खड्का मृत फेला, बैंककै कर्मचारीमाथि आरोप
विराटनगर। विराटनगरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत सिनियर अफिसर पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्। झापाको दमक नगरपालिका-८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय खड्का सोमबार साँझ ५ बजेतिर घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
मृत्यु हुनुभन्दा केही समयअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा सोही बैंकका केही सिनियर बैंकरहरूको तस्बिर पोस्ट गर्दै आफूलाई उनीहरूले मारेको गम्भीर आरोप लगाएका थिए। उनले फेसबुकमा ‘यु बास्टर्ड किल मी’ र ‘तिमीहरूले मलाई मारेका छौ’ भन्दै केही सिनियर कर्मचारीहरूको नाम समेत किटान गरेका छन्।
मृतक खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए र केही समयअघि मात्रै उनको विराटनगर शाखामा सरुवा भएको थियो।
इलाका प्रहरी कार्यालय दमकका अनुसार खड्कालाई घरमै झुन्डिएको अवस्थामा देखेपछि उनका बुबा महेश खड्काले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। सामाजिक सञ्जालमा गरिएको गम्भीर आरोप र घटनाको प्रकृतिलाई लिएर प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।
