बहिरोपन र अन्धोपनको उपचार अब सम्भव

स्वास्थ्य विज्ञानको क्षेत्रमा यो साता एउटा तहल्कापूर्ण घटना भएको छ। जन्मजात वा लामो समयदेखि नसुन्ने समस्या भोगिरहेकाहरूले अब जिन थेरापीको माध्यमबाट सुन्न सक्ने भएका छन्। अमेरिकाको एफडीएले यसलाई आधिकारिक स्वीकृति दिएको छ, जुन यो शताब्दीकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो। यस ऐतिहासिक सफलताका लागि अहिले विश्वभरका मानिसले वैज्ञानिकहरूको प्रशंसा गरिरहेका छन्।

म विगत केही समयदेखि आँखाको रेटिना सम्बन्धी अनुसन्धानमा काम गरिरहेको छु। जिन थेरापी पनि त्यही उपचार विधिमध्ये एक हो, जुन अहिले तीव्र अनुसन्धानको क्रममा छ। यो प्रविधि श्रवण शक्तिमा मात्र सीमित छैन, दृष्टिका क्षेत्रमा पनि यसलाई लिएर ठूला अनुसन्धान र लगानी भइरहेका छन्। सौभाग्यवश, म आफैँ विगत चार वर्षदेखि अस्टिनस्थित एउटा क्लिनिकल रिसर्च टिममा यसै विषयमा काम गरिरहेको छु।

मैले हरेक दिन जिन थेरापी लिएका बिरामीहरूसँग प्रत्यक्ष काम गर्ने, उनीहरूको मेडिकल फोटो लिने र स्वास्थ्यमा भइरहेको क्रमिक सुधारलाई नजिकबाट हेर्ने अवसर पाइरहेको छु। म आफैँ पनि रेटिनाको एन्जियोग्राफर भएकोले यसको संवेदनशीलतालाई राम्रोसँग बुझ्छु। हाम्रो आँखाको ‘रेटिना’ ले प्रकाश ग्रहण गरी मस्तिष्कसम्म दृश्य पुर्‍याउँछ। यदि कुनै कारणले यो भाग खिइयो वा नष्ट भयो भने अहिलेसम्म त्यसको ठोस उपचार थिएन। तर अहिले जिन थेरापीमार्फत खराब कोशिकाहरूलाई पुनर्जीवन दिने लक्ष्य राखिएको छ।

जिन थेरापी भनेको सजिलो भाषामा भन्दा हाम्रो शरीरका कोषहरूभित्र रहेको खराब वा त्रुटिपूर्ण वंशाणु (Gene) लाई मर्मत गर्ने वा फेर्ने अत्याधुनिक प्रविधि हो। हाम्रो शरीरको ‘जेनेटिक कोड’ मा केही खराबी आउँदा लाग्ने वंशाणुगत रोगहरूलाई साधारण औषधिले निको पार्न सकिँदैन। जिन थेरापीले भने समस्याको जरासम्मै पुगेर बिग्रिएको जिनलाई स्वस्थ जिनले प्रतिस्थापन गर्ने वा नयाँ जिन पठाउने काम गर्छ। यसरी बाहिरबाट औषधि खुवाउनुको सट्टा शरीरकै आन्तरिक प्रणाली सुधार्ने हुनाले यसलाई भविष्यको सबैभन्दा प्रभावकारी उपचार पद्धति मानिएको छ।

अघिल्लो हप्ता मात्रै एफडीएले ‘ओटारमेनी’ (Otarmani) नामको पहिलो जिन थेरापीलाई अनुमति दियो, जसले जन्मजात सुन्न नसक्ने बालबालिकाहरूलाई एक वर्षभित्रै सामान्य मानिस सरह सुन्न सक्ने बनाएको छ। यो चिकित्सा इतिहासकै एउटा चामत्कारिक मोड हो। यस्तै प्रगति आँखाको ‘रेटिनाइटिस पिग्मेन्टोसा’ जस्ता जटिल रोगको उपचारमा पनि भइरहेको छ, जहाँ सिधै रेटिनामा सुई (इन्जेक्सन) मार्फत औषधि पुर्‍याइन्छ।

मलाई नेपालमा १० वर्षसम्म सँगै काम गरेका एक मित्रको सम्झना आउँछ, जसलाई यस्तै समस्या छ। उहाँले मलाई फोन गर्दा सधैँ सोध्नुहुन्छ, “बिमलजी, मेरो आँखाको उपचारमा केही प्रगति भयो?” अहिलेको समाचार र मैले प्रत्यक्ष देखिरहेको अनुसन्धानले उहाँ जस्ता धेरैलाई पक्कै पनि नयाँ आशा दिनेछ। हामीले संकलन गरेको तथ्याङ्कलाई यहाँका विश्वविद्यालयहरूले दिनहुँ प्रशोधन गरिरहेका छन् र यसको नतिजा अबको केही वर्षमा औषधिको रूपमा संसारसामु आउनेछ।

पहिले-पहिले यस्ता शारीरिक समस्याहरूलाई मानिसहरूले भाग्यको खेल मानेर चित्त बुझाउँथे। तर अब विज्ञानले मानिसको जन्मजात हुने त्रुटिलाई पनि सच्याउन थालेको छ। एउटै सुई वा सानो उपचारले जीवनभरका लागि सुन्ने र देख्ने शक्ति फर्किने दिन अब धेरै टाढा छैन। यो सफलताले विश्वभरका लाखौँ मानिसहरूको जीवनमा नयाँ उज्यालो र आवाज ल्याउने निश्चित छ। आधुनिक चिकित्सा विज्ञानको यो यात्रा साँच्चै लोभलाग्दो र आशावादी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *