एसईईपछिको सङ्घार
दश वर्षको अविरल यात्रा, हजारौँ रातका अनिँदा सपनाहरू र कापीका पानाहरूमा कोरिएका अनेकौँ अक्षरहरूको एउटा महत्त्वपूर्ण विश्रामविन्दु हो- एसईई! भर्खरै एसईईको परीक्षा परिणाम सार्वजनिक भएको छ। म एकछिन मेरो अतीततिर फर्किन्छु। म मेरो चिसापानी माध्यमिक विद्यालय (खोटाङ) पुग्छु। म भूगोलपार्कको भित्तामा टाँसिएको गोरखापत्रमा अङ्कित मेरो ‘सिम्बोल नम्बर’, रेडियो नेपाल र विद्यालय परिसरको स्मृति–दंशमा घोत्लिन पुग्छु।
२०४४ साल जेठ १२ गतेको त्यो बिहान मेरो दश वर्षे स्कुले जीवनको भाग्यफल निस्किएको थियो। परिणाममा मेरो ‘प्रथम श्रेणी’ मेरा लागि प्रथमतः फलामे ढोकाको साँघुरो छिँडी तोडेर फुक्काफकिर बल्ल सुकिलो जीवन-मार्गको प्रस्थानविन्दु थियो। म खुसी र हर्षविभोर भएको थिएँ। कसरी तुरुन्तै गाउँ पुग्नु, कसरी घरपरिवार र विद्यालयमा यो खबर पुर्याउनु? म एकदमै हतारिएको थिएँ। किनभने त्यो बेला सञ्चार माध्यम गोरखापत्र गाउँसम्म पुग्न निकै समय लाग्थ्यो।
रेडियो नेपाल, बालकार्यक्रमका सञ्चालक वासुदेव मुनालले लिनुभएको छोटो अन्तर्वार्ताले सो कार्यक्रममार्फत म गाउँ पुग्नुअघि नै शुभ समाचारको प्रवाह भइसकेको रहेछ। यो कुरा थाहा पाएर मेरो खुसीले सगरमाथा शिखर पुगेजत्तिकै सन्तुष्टिको पल महसुस गर्यो। म कसरी रातभरिको अनिँदोले धङ्धङ्गिँदै त्रियुगाको भेल तरेँ, बेल्टारको बजार छिचोलेर सुगाचरीको उकालो चढेँ, कसरी छुइलाको ओरालो झरेर ब्वाँखोलाको बगर काटेँ अनि फेदीको ठाडो उकालो काटेर चिसापानी पुगेँ? मलाई नै थाहा छैन। थकाइ, भोक, झरी कुनै केहीको पनि ख्याल भएन।
सुखद समाचारले सबै पीडाहरूसमेत बिर्साइदिँदो रहेछ। अब अहिले म फेरि वर्तमानमा फर्किन्छु। अन्तिम परीक्षाको अन्तिम घन्टी बज्दै गर्दा एउटा परीक्षा सकिएको हुँदैन। हो, बरु एउटा बालापनको अध्याय नै समाप्त भएको महसुस हुन्छ। झोलाबाट गह्रौँ किताबका भारीहरू झरेझैँ मनबाट एउटा ठूलो बोझ त उत्रिन्छ, तर त्यही खाली ठाउँमा अनौठो जिज्ञासा र कौतूहलताको नयाँ भारीका मुनामुजुराहरू पलाउन थाल्छन्।
परीक्षापछिका ती सुरुवाती दिनहरू निकै सुन्दर हुन्छन्। बिहान सबेरै उठेर ‘नोटबुक’ पल्टाउनुपर्ने बाध्यता हुन्न। गणितका सूत्रहरू र विज्ञानका परिभाषा घोक्नुपर्ने तनावबाट मुक्ति मिल्दा एउटा पन्छीले पिँजडाबाट आकाशमा उड्न पाएजस्तै अनुभूति हुन्छ। यो समय एउटा यस्तो खुसी हो, जहाँ हार-जितको कुनै पर्वाह हुन्न।
आफ्नै आँगन, आफ्नै कोठा र आफ्नै समयमाथि पहिलोपटक पूर्ण अधिकार भएको आभास हुन्छ। साथीभाइसँगका ती रमाइला कुराकानी र विद्यालयका पाइला-पाइलामा बुनिएका सम्झनाहरूले मनलाई पुलकित बनाउँछन्।
तथापि यो खुसीको सतहमुनि एउटा गहिरो छटपटी पनि लुकेको हुन्छ। शिशु कक्षादेखि कक्षा १० सम्मको त्यो लामो यात्रा, जहाँ शिक्षकको स्नेह, अभिभावकको लगानी र आफ्नै पसिना मिसिएको छ। ती दश वर्षका हरेक दिनहरू आज एउटा पानामा अङ्कित हुन तयार छन्। कस्तो आउला नतिजा? के मेरा अपेक्षाहरूले मूर्त रूप पाउलान्?
यी प्रश्नहरूले कहिलेकाहीँ मध्यरातमा पनि झस्काउँछन्। यो केवल अङ्कको खेल मात्र होइन, यो त एउटा किशोर मनले आफ्नो अस्तित्व र क्षमता प्रमाणित गर्ने पहिलो ठूलो कडी हो।
यस समयमा युवा मनोविज्ञान एउटा दोसाँधमा उभिएको हुन्छ। एकातिर आफ्नो मिहिनेतमाथि दृढ विश्वास छ भने अर्कोतिर भविष्यप्रति अगाध आशा। आमाबाबुको आँखामा झल्किएको त्यो भरोसालाई साकार पार्ने उत्कट चाहना मनमा खेलिरहन्छ।
‘मैले राम्रो गरेको छु’ भन्ने आत्मविश्वास र ‘कतै केही बिग्रियो कि’ भन्ने डरको लुकामारी नै यो प्रतीक्षाको वास्तविक सौन्दर्य हो। भरोसा केवल नतिजामा मात्र होइन, अब आउने नयाँ जीवनको मार्गचित्रमा पनि छ।
प्रतीक्षा जति लामो हुन्छ, फलको स्वाद उति नै मीठो हुन्छ भनिन्छ। तर एसईईपछिको यो प्रतीक्षाले धैर्यता मात्र सिकाउँदैन, आफूलाई चिन्ने अवसर पनि दिन्छ। कलेजका सपनाहरू, विषय छनोटका अन्योलहरू र एउटा परिपक्व जीवनतर्फको यात्राको यो ‘ट्रान्जिट’ निकै भावुक हुन्छ।
अन्ततः, यो परीक्षा जीवनको अन्तिम फैसला होइन, एउटा सुन्दर सुरुवात हो। १० वर्षको त्यो निरन्तर साधनाले हामीलाई अक्षर मात्र चिनाएको छैन, लड्न र उठ्न सिकाएको छ। त्यसैले, परिणाम जे जस्तो आए पनि, त्यो १० वर्षको लगाव र यो सुन्दर प्रतीक्षा नै आफैँमा एउटा उपलब्धि हो।
यो समय खुसी मनाउने समय हो- बितेका सुनौला दिनहरूका लागि र आउने उज्ज्वल भविष्यको स्वागतका लागि।
दश वर्षको निरन्तर तपस्यापछि जब नतिजाको घडी नजिकिन्छ, तब एउटा विद्यार्थीको मनमा कौतूहलताका अनगन्ती तरङ्गहरू पैदा हुन्छन्। कुनै समय ‘फलामे ढोका’ मानिने यो परीक्षालाई तोडेर बाहिर निस्किँदाको आभास नै बेग्लै हुन्छ।
पढेर, बुझेर, अनि कतिपय सन्दर्भमा रटेर परीक्षा हलको त्यो शान्त वातावरणमा प्रवेश गर्दाको अनुभव निकै रोचक हुन्थ्यो। कहिले प्रश्नपत्र हातमा पर्दा आफूले पढेका कुराहरू टक्क मिलेर आउँथे, मानौँ कुनै पुरानो साथी भेटियो। त्यतिबेला कलमका निबहरू कागजमा सङ्गीत बनेर दौडिन्थे। तर, कहिलेकाहीँ नपढेको वा नसोचेको प्रश्नले मथिङ्गल यसरी खाइदिन्थ्यो कि केही बेर त मस्तिष्क शून्य बन्थ्यो।
तथापि, ती चुनौतीहरूलाई शब्दमा उतार्नुको आफ्नै आनन्द थियो। मेरा लागि परीक्षा जाँच मात्र थिएन, त्यो त आफ्ना विचारहरूलाई व्यवस्थित गर्ने एउटा सुन्दर र सिर्जनात्मक क्षण थियो।
परीक्षाफलको यो उल्लासले मलाई फेरि त्यही विद्यालयको प्यारो वातावरणमा पुर्याउँछ। गुरुआमा र गुरुबाहरूले सुम्सुम्याउँदै दिएका उपदेशहरू, साथीभाइसँग बेन्चमा बसेर साटेका टिफिनहरू र चौरमा खेलिएका खेलहरू आज एउटा चलचित्रझैँ मानसपटलमा घुमिरहन्छन्। विद्यालयका ती पाठहरू किताबका अक्षर मात्र थिएनन्, ती त जीवन बुझ्ने जगहरू थिए। आजको युवा पुस्ताले नतिजा पर्खिरहँदा मलाई लाग्छ- हामीले प्राप्त गरेको त्यो शिक्षा नै हाम्रो वास्तविक सम्पत्ति हो।
एसईईपछिको परिणामले दिने खुसी र उल्लास एउटा अनुपम क्षण हो। जब आफ्नो मिहिनेतले सफलताको रङ्ग भर्छ, तब लाग्छ- १० वर्षको थकाइ मेटियो। यो सफलता एउटा ‘मार्कसिट’ मा सीमित छैन, यसले त आत्मविश्वासको नयाँ क्षितिज उघारिदिन्छ।
म कामना गर्छु, यस्तै सिर्जनात्मक पहलहरू जीवनमा सधैँ आइरहुन् र हामीले यस्तै अनेकौँ परीक्षाहरू मुस्कुराउँदै दिइरहन पाइयोस्। जसरी एउटा आरोहीले चुचुरो चुमेपछि सन्तुष्टि प्राप्त गर्छ, त्यसैगरी हरेक विद्यार्थीले आफ्नो स्कुले जीवनको अध्ययनपछि एसईई परिश्रमको परिणामबाट ‘सन्तुष्टिको सगरमाथा’ चुम्न सकोस्। विगतका ती सुन्दर सम्झनाहरूलाई मुटुमा सजाउँदै आगामी यात्रा अझै सुन्दर र अर्थपूर्ण बनोस्।
