चरा, आकाश र जीवन
चराहरू-
सधैँ आकाशका मालिक हुँदैनन्-
उनीहरू त केवल
क्षितिजपारि आफ्नो अभाव खोज्न उड्छन्
मान्छेहरू पनि त्यसैगरी
आफ्ना इच्छाका पखेटा फिजाएर
सपनाको हावामा
धेरै टाढासम्म उडिरहन्छन् जीवन खोज्नलाई ।
०००
कोही बादलमाथि पुगेको दाबी गर्छ
कोही जूनको नजिक पुगेको कथा लेख्छ
तर साँझ पर्दै जाँदा
जब-
ती उडानका उचाइहरूलाई
थकानका भारीले अङ्कुश लगाउँछन्
आशाका उज्यालाहरू बिस्तारै निभ्न थाल्छन्
त्यसपछि-
स्मृतिको कुनै पुरानो रूखमा
एउटा परिचित गुँडले बोलाएझैँ
यादहरू झल्यास्स ब्युँझिन्छन् एकफेर ।
०००
अनि-
चराहरू फर्किन्छन्
किनकि आकाशमा कुनै घर हुँदैन
उचाइको मात्रै कुनै भर हुँदैन
र मान्छेहरू पनि फर्किन्छन्
शेष आकांक्षाहरू तानिन्छन् भुइँतिर
गुरुत्वको बेगमा
आकासको छानोमुनि बास बस्नलाई
भोलि-
फेरि नापिने छन् जिन्दगीका उडानहरू
चङ्गाको डोरीको लम्बाइसँग
उड्दै चराहरूका पछि पछि
समयको रीत धान्नलाई ।
