निर्माण व्यवसायी धर्नामा : देशभरका आयोजना ठप्प पार्ने चेतावनी
काठमाडौँ । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोध गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार सडक विभागमा धर्ना दिएको छ।
मूल्यवृद्धिका कारण देशभरका आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले कुनै चासो नदेखाएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समिति आन्दोलित भएका हुन्।
व्यवसायीहरूले सडक विभागमा धर्ना दिनुका साथै आफ्नो मागसहितको ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। सरकारको उदासीनताका कारण काम अगाडि बढाउन नसकिने बताउँदै व्यवसायीहरूले निर्माणका सम्पूर्ण कामहरू आजैका मितिबाट ठप्प पारिने जानकारी दिएका छन्।
मूल्यवृद्धिको समस्यालाई सरकारले तत्काल सम्बोधन नगरेसम्म कुनै पनि आयोजनाका काम अगाडि नबढाउने अडान निर्माण व्यवसायीहरूले राखेका छन्।
विरोध प्रदर्शनका कारण देशभर सञ्चालित विकास निर्माणका कामहरू थप प्रभावित हुने देखिएको छ।
