प्रधानमन्त्रीलाई सदनमा बोलाउन सांसद राईको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङमार्फत तत्काल सदनमा बोलाउन माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले सरकारको आफ्नै नीति तथा कार्यक्रममाथि छलफल हुँदा समेत प्रधानमन्त्री अनुपस्थित हुनु लज्जास्पद भएको बताए।
सभामुखलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बाहिर निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् भन्दै प्रश्न गरे।
सांसद राईले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने मुख्य दिनमै प्रधानमन्त्री नदेखिनुले संसदीय गरिमामा आँच पुगेको टिप्पणी गरे।
‘सभामुखज्यू ! यो सभाको इज्जत राख्ने काम तपाईंको हो,’ सांसद राईले भने, ‘तपाईं यो सभाको नायक हो, त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस्’।
यसअघि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहे पनि अन्तिम समयमा अर्थमन्त्रीले जवाफ दिने तयारी भएपछि प्रतिपक्षी सांसदहरूले त्यसको विरोध जनाएका हुन्।
