बीपी प्रतिष्ठानमा हप्ताको दुई दिन बिदा, जेठ १ देखि लागू हुने
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारको निर्णय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले शनिबार र आइतबार बिदा दिने व्यवस्था गर्न लागेको हो।
प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्। हप्ताको दुई दिन बिदा भए पनि अस्पतालको अन्तरङ्ग (भर्ना) सेवा र आकस्मिक सेवा भने पहिलेझैँ सुचारु रहने प्रतिष्ठानले जनाएको छ।
यसअघि शुक्रबार आधा दिन मात्र सञ्चालन हुँदै आएका अस्पतालका सेवा तथा कार्यालयहरू अब अन्य कार्यदिन सरह पूर्ण समय सञ्चालन हुने भएका छन्। दुई दिन बिदा दिँदा बिरामीको चापलाई मध्यनजर गर्दै बाँकी पाँच दिन सेवाको समय बढाइएको हो।
