अन्नपूर्ण भेटेर फर्किंदै गर्दा

अन्नपूर्णको विशालता र हिउँको स्पर्श महसुस गरेर फर्किँदै गर्दा मन रमाउनु स्वाभाविक हो । गन्तव्य पुग्नुको सास्तीलाई अन्नपूर्णको सौन्दर्यले हिउँमै बिलाइदिने रहेछ । अन्नपूर्ण भेटेर फर्किँदा मेरो एउटा आत्मिक पदयात्रालाई सम्झिँदा मनमा पुनः तिनै दिनको मीठो याद आँखाको डिलमा झलमल्ल आउँछ । हिउँको स्पर्श र मनको उडानमा मैले टेकेका पाइला, देखेका दृश्य र अनुभूति सँगालेका पलहरू मेरो जीवनकै सुन्दर क्षण हुन् ।

अन्नपूर्णको काखबाट ओरालो लाग्दै गर्दा शरीर तल झर्दै छ, तर मन भने खुसीको पखेटा फिँजाएर अझै ती हिउँचुलीमै मडारिरहेको छ । बाटोभरि छरिएका हिउँका सेता थुप्रामा पाइला टेक्दाको त्यो कञ्चन अनुभूति बयान गरिसाध्य छैन । मेरो मनभित्र कता–कता एउटा अपत्यारिलो उन्मादले ढक्ढक्याइरहेछ । मानौँ, म यो धर्तीमा होइन, कुनै अर्कै जादुमयी संसारमा विचरण गरिरहेको छु । म भौतिक रूपमा एक्लै छु, तर मेरो अघि–पछि हिँडिरहेका पदयात्रीको लर्कोले एउटा मौन सामिप्यको आभास गराइरहेको छ ।

लाग्छ– यहाँ कोही पनि एक्ला छैनन् र हुँदा रहेनछन्, किनकि सबैका गन्तव्य र भावना ती हिमालका टाकुरासँगै उनिएका हुन्छन् । सबैको ध्येय र धोको, खुसी र सन्तुष्टि त्यही अन्नपूर्ण हेर्नु र भेट्नुमा केन्द्रित हुँदो रहेछ । स्वर्णिम आरती र दिव्य दृश्य प्रत्येक यात्रीका आँखामा प्रवेश गर्छन् । अन्नपूर्ण आधार शिविरमा बिताएका ती क्षण सम्झँदा अहिले पनि गला अवरुद्ध हुन्छ र आँखा रसाउँछन् । बिहानीको प्रथम किरणले जब अन्नपूर्णको धवल शिरलाई स्पर्श गर्छ, तब लाग्छ– प्रकृति स्वयंले सुन पगालेर हिमाललाई अभिषेक गरिरहेकी छिन् । ‘सूर्य–स्नान’ ले राताम्मे भएका ती हिउँका टाकुरा देख्दा ब्रह्माण्डकै भव्य ‘प्रातःकालीन आरती’ भइरहेको जस्तै लाग्छ । त्यो दृश्य केवल आँखाले हेर्ने चिज थिएन, त्यो त सिधै मनले अनुभूत गर्ने एउटा दिव्य प्रकाश थियो ।

हिउँको चुनौती र यात्रीको हठ पनि अनौठो हुँदो रहेछ । हिमालको त्यो ‘सुनमा सुगन्ध’ जस्तो रूप वरण गर्न मानिस कुन हदसम्म लालायित हुन्छ भन्ने कुरा आधार शिविरको किनारमा देखिने पर्यटकको ताँतीले प्रष्ट पार्छ । एकाबिहानै मुटु मात्रै होइन, हड्डी नै छेड्ने ठिही, पैतालामुनिको कठोर हिउँ र फोक्सो नै फुलाउने चिसो हावा– हिमाली आकर्षणको अगाडि कसैको केही जोड चल्दो रहेनछ ।

मेरो मन पनि एउटा लोभी बालकझैँ अटेरी बन्छ । हिउँमा चिप्लेर लड्दाका चोट बिर्सिएर, फेरि उठ्दै, थकित शरीर घिसार्दै म तिनै सुनौला टाकुरालाई आँखा र क्यामेरामा कैद गर्न हतारिरहेको हुन्छु । आहा ! त्यो दुखाइ र हतारोमा एउटा छुट्टै आनन्द मिल्दो रहेछ । एउटा पवित्र तृष्णा जागृत हुन थाल्दो रहेछ । ओरालोको जोखिमलाई बिर्सिएर अन्नपूर्णसँगको साक्षात्कारमा खुसीले चुमेका स्मृति–विम्ब ताजै छन् । वर्षौँसम्म पनि यिनलाई कहाँ सजिलै बिर्सिन सकिन्छ र ? बरु यिनले यात्रामा हिँडिरहन मलाई प्रेरित गरिरहन्छन् ।

अहिले म ओरालो झर्दै छु । हिउँको बाटोमा हजारौँ पदयात्रीका पाइलाका डोब छन्, जो एउटा भरोसा बनेर मलाई बाटो देखाइरहेका छन् । उकालो चढ्दाको पसिना र श्वासको गतिभन्दा हिउँको यो ओरालो झर्नु निकै कठिन र चुनौतीपूर्ण छ । प्रत्येक पाइलामा चिप्लने डर र जोखिम छ, तर ती जोखिमभन्दा कता हो कता शक्तिशाली छन् ती स्मृति, जुन मैले माथि छाडेर आएको छु । ओरालो झर्दै गर्दा म तिनै डोब पछ्याइरहेछु, तर मेरो मानसपटलमा भने अन्नपूर्णको त्यो स्वर्णिम मुस्कान अमिट भएर बसिरहेको छ । म एक्लै मुसुक्क मुस्कुराउँछु । मैले खोजेको दृश्य देख्न पाएकोमा आफैँसँग एकदमै कृतज्ञ छु । मौसमले साथ दिएको र स्वास्थ्य अनुकूल भइदिएकोमा पनि खुसी छु ।

यो यात्रा हिमाल हेर्नु मात्र रहेनछ, यो त आफ्नैभित्रको अदम्य साहस र प्रकृतिको विराट वैभवसँग साक्षात्कार गर्ने एउटा महायात्रा पनि रहेछ । यस्तोमा भोक पनि हार्दो रहेछ । पाइला पनि नथाक्दा रहेछन् । आँखाहरूले जति हेरे पनि नअघाउँदा रहेछन् । नयाँ दृश्य, नवीन आभास र नौला अनुभूतिले चुम्न आउँदा रहेछन् । यति भएपछि मेरो लेखनका ऊर्जा र खुराक सबै पर्याप्त हुने भइहाले ।

अन्नपूर्ण आधार शिविरबाट ओर्लिएर माछापुच्छ्रे आधार शिविरमा बिसाउन आउँदा ज्यान कत्ति पनि थकित छैन । बिहान हिउँमा चिप्लेर लड्दा थचारिएर दुखेको चोटको पीडा पनि छैन । हात चिसोले अररिएर मोबाइल नै समात्न नसकेको अवस्थाको पनि ख्याल छैन । एकनाश अनुपम प्राकृतिक छटाको छताछुल्ल बिस्कुनमा मेरा आँखा चर्न थाल्छन् ।

देउराली नजिकको एक खाजाघरमा मैले केही नेपाली र भारतीय यात्रीलाई भेटेँ । उनीहरू थकित छन्, तर उत्साहित । छालाको बाक्लो टोपी लगाएका एक नेपाली युवक, जो पोखराबाट आएका रहेछन्, उभिएर साथीलाई भन्दै थिए– “हेर यार, हाम्रो देश यति सुन्दर छ, जसको बयानै गर्न सकिँदैन । यस्तो ठाउँ त फिल्ममा पनि देखिन्न होला । जीवनमा एकचोटि यहाँ नआइपुग्ने नेपालीले त पक्कै केही छुटाउँछ ।” उनको स्वरमा गर्व मिसिएको थियो, आँखामा उज्यालो झल्किएको ।

छेउमै सुनौलो टोपी लगाएका अर्का भारतीय पदयात्री, कोलकाताका शिक्षक, मुस्काउँदै भनिरहेको सुन्छु– “हमारे हिमालय में कुछ तो बात है । शिव के जैसा शान्त, लेकिन भीतर से कितना ऊर्जावान ! यहाँ आकर लगता है जैसे आत्मा को स्पर्श मिल रहा हो ।” अन्नपूर्णको पृष्ठभूमिमा उभिँदा उनीहरूको अनुहारमा धर्म, दर्शन र प्रकृतिप्रतिको श्रद्धा मिसिएको देखिन्छ ।

बङ्गलादेशी यात्रुहरूको एउटा सानो समूह मेरो पछि-पछि आइरहेको छ । एक युवतीले अन्नपूर्ण आधार शिविरमा खिचेको फोटो देखाउँदै साथीलाई भनिन्– “यो सुन्दरता कसैले बयान गर्न सक्दैन । अन्नपूर्णलाई हेर्दा मलाई लाग्छ म त्यहाँ आफैँ हराइरहेकी छु ।” त्यसकै उत्तरमा उनका साथीले बङ्गाली भाषामा भनेको कुरालाई नेपालीमा अनुवाद गरेर भने- “बङ्गलादेशमा पनि यस्तो शान्ति पाइँदैन । यहाँ केही दिन अझै बस्न मन लाग्छ । किनभने हाम्रोमा यस्ता हिमाल र पहाड छैनन् । हामी यस्तो सुन्दर प्रकृति मन पराउँछौँ ।”

यी संवादहरू शब्द मात्र थिएनन् । यी त पग्लिँदै गरेको हिमाल जस्तै भावना थिए, जुन हावा, उज्यालो र यात्रुको छायामा मिसिएका थिए । त्यसमा बाटोका डिलमै फुलिरहेका लालीगुराँसका रङ छचल्किएका थिए । डाँफे र मुनालका सौन्दर्य प्रस्फुटित भइरहेका थिए । आकाशबाटै खसेका जस्तै झरनाका वेग देखिन्थे । यी सबै दृश्य र संवादलाई म मेरो मनको मझेरीमा बटुलेर राख्छु ।

आधार शिविर पुग्न ताउरमाउर गर्दै उकालो चढिरहेका यात्री भेटिन्छन् । विदेशी मात्र होइन, स्वदेशी पर्यटकको समूह पनि निकै छन् । एक अर्कालाई क्यामेरा दिएर फोटो खिच्दै उकालो चढिरहेका र ओरालो झरिरहेका छन् । एउटै फ्रेममा नेपाल, भारत, बङ्गलादेश, चीन, कोरिया, जापान, अमेरिका र जर्मनीका पर्यटकका अनुहार मिसिएका छन् ।

कोही नाच्छन्, कोही भक्कानिन्छन् । कोही चुपचाप टोलाएर बस्छन् । कोही हिमालतिर आँखा डुबाएर त्यहीँ हराउँछन् । म पनि निःशब्द भएको सम्झिन्छु । अन्नपूर्ण आधार शिविरको यति विराट सुन्दरताका सामु शब्दहरू पनि फिक्का बन्दा रहेछन् । मात्र आँखाले तृप्त हुन्जेल हेर्नु र फेरि हेरिरहनु !

अन्नपूर्ण भेटेर फर्किँदै गर्दा सबैको मुखबाट एउटै भाव प्रकट भएको मेरो कानमा पुनः प्रतिध्वनित हुन्छ– “थ्याङ्क यू अन्नपूर्ण ! थ्याङ्क यू !!”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *