मृणालिका

शब्दभन्दा माथि उभिएकी
मौन दृढ प्रतिज्ञा-
मृणालिका जस्तै
जहाँ प्रेम केवल भाव होइन,
हृदयमा टाँसिएको आस्था हो ।

गहिराइको पर्वाह नगरी
उसका मेरुदण्डमा
विश्वासका नसाहरू दौडिन्छन्,
शुद्धताको रगतले
हिलो पखालेर
झरीपछिको आकाश बनेर
युगको अन्धकार चिर्दछ ।

कागज वा अक्षर होइन ऊ,
मनमा लेखिएको
अक्षय विधान-
जहाँ इमानदारिताको श्वासले
देख्ने र सुन्ने गरी
दिमाग होइन, हृदय चलाउँछ ।

मृणालिका-
एउटा नाम मात्र होइन
शान्त तलाउका बीच ठडिएको
एक गर्विलो धुरी हो
जसमा अडिएको छ-
माटोको भरोसा
र समय उक्लिने सिँढी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *