जबरजस्ती करणीको आरोपमा शिवसताक्षीबाट युवक पक्राउ
सांकेतिक तस्बिर
झापा । झापाको शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई रहेका छन्।
प्रहरीका अनुसार यो घटना करिब तीन महिना अगाडिको हो। २०८२ साल माघ २० गते दिउँसो राईले ती युवतीलाई शिवसताक्षी–९, दुधेस्थित आफ्नो पुरानो घरमा लगेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। युवतीले घटनाको केही समयपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेकी थिइन्।
पीडित युवतीले गत बैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उपस्थित भई राईविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरी परेलगतै सक्रिय भएको प्रहरी टोलीले आरोपीको खोजी कार्य सुरु गरेको थियो। यसै क्रममा बैशाख १६ गते इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई शिवसताक्षीकै दुधे चोक बाट नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका अमृतधन कुलुङ राईलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखी जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
