विश्रान्तिधाम संस्कृत गुरुकुललाई ‘सरस्वतीप्रसाद-दुर्गादेवी पुरस्कार’

धनकुटा । सरस्वतीप्रसाद-दुर्गादेवी रिजाल प्रतिष्ठान इटहरीले धनकुटास्थित विश्रान्तिधाम संस्कृत गुरुकुललाई ‘सरस्वतीप्रसाद-दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार २०८३’ प्रदान गरेको छ।

गुरुकुलीय शिक्षा, सनातन धर्मसंस्कृतिको संरक्षण र संस्कृत भाषाको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै २ लाख रुपैयाँ राशिको सो पुरस्कार समर्पण गरिएको हो।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रतिष्ठानकी अध्यक्ष शान्ता रिजालले संयुक्त रूपमा सो पुरस्कार प्रदान गरे। समारोहमा बोल्दै नगरप्रमुख तामाङ र अन्य वक्ताहरूले जन्मभूमि र सनातन धर्मसंस्कृतिसँगको सम्बन्ध प्रगाढ रहने विचार व्यक्त गरे।

कार्यक्रममा साहित्यकार प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक प्रा.डा. गोपाल भण्डारी र गुरुकुलका सल्लाहकार विजयानन्द सरस्वतीले शिक्षा र संस्कृतिको महत्त्वबारे चर्चा गरे।

समारोहमा गोकुल अधिकारी, मुकुन्द प्रयास, लोचन रिजाल र मीनकुमार नवोदित लगायतका कविहरूले सिर्जना वाचन गरेर कार्यक्रमलाई काव्यमय बनाएका थिए।

प्रतिष्ठानका निवर्तमान महासचिव भैरव रिजालले २०८० सालमा स्थापित संस्थाले साहित्य, कला र शिक्षा क्षेत्रका विशिष्ट व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको जानकारी दिए।

यसअघि यो पुरस्कारबाट वैरागी काइँला, डा. दयाराम श्रेष्ठ र रवीन्द्र पुरी लगायतका व्यक्तित्वहरू सम्मानित भइसकेका छन्। कार्यक्रमको सञ्चालन डा. मीरा आचार्य रिजालले गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *