‘द लास्ट डेस्टिनेसन’
अन्तिम सासले
जीवनसँग बिदा माग्दा
ऊ प्रश्न गर्छ –
समय ! तँ थाकिस अब
थाकिस…. थाकिस….!!
बिस्तारै विलीन हुन्छ
प्रतिध्वनिको शून्यता पनि।
०००
आधा खुलेका आँखाले
अब संसार देख्दैनन्
आफ्नै भित्री आकाशमा
अनन्त खोजिरहन्छन्
सधैँ पछ्याइरहेको समय पनि
आज रोकिएको छ
धुमिल यादहरू
उसैका ऋण तिर्दैछन्
मौनताको गहिराइमा।
०००
शरीर चुपचाप छ
र, उसले देखिरहेछ
उसको आत्माको पाइला
ढोकाबाहिर पुगिसक्यो
अब फर्किने कुनै गुञ्जायस छैन
केही दिन पाहुना आएका
आफन्तहरू फर्किए जस्तो
आफ्नै बाटोमा –
गुरुत्वरहित ‘जिजीविषा’।
०००
त्यो नीरव क्षणमा
न डर छ, न कुनै चित्कार
केवल एउटा अनौठो शान्ति छ
र, सत्यको स्वीकारोक्ति
आफ्नै विसर्जनको
न हार न जितको उन्माद
न प्रश्न, न हारको अस्तित्व
जिन्दगीको मौन-समर्पण।
०००
घाटको शून्यता
र चिताको सौन्दर्यमा चढेर
आगो पर्खिरहेछ
मुक्तिको ‘बुटी’ लिएर
मानौँ, त्यो कुनै दाह होइन
बरु मायाको आवरण पखाल्ने
एउटा अन्तिम स्नान हो
एउटा मृत्यु, अनेक जन्म
कायान्तरणको निरन्तरता
‘सत्यम् शिवम् सुन्दरम्’।
०००
धुवाँ उड्छ आकाशतिर
अनगिन्ती कथाहरू बोकेर
सायद बादलले सुन्छन्
जहाँ एउटा ‘म’ हराउँछ
र, अनेक ‘सबै’ सुरु हुन्छ
अनि जँघारपारि नै
नाम, रूप, मेरा सबै छाडेर
त्यो अन्तिम उज्यालोमा
विलीन हुनेछ –
एउटा शान्त बिदाइ बनेर।
०००
खरानी बन्छ देह
माटोसँग मिल्नका लागि
जहाँबाट सुरु भएको थियो
त्यहीँ फर्किनका लागि
तर खरानी हुनु भनेको
हराउनु होइन, फैलिनु रहेछ
आगोले जलाए पनि
समयले हराए पनि
पञ्चतत्त्वको अस्तित्व झैँ
अनन्त र अक्षय रहिरहन्छ
चक्रको निरन्तरतामा।
०००
अब सार्नै पर्ने पाइला हुने छैनन्
हिँड्नै पर्ने बाटाहरू हुने छैनन्
जानै पर्ने र पुग्नै पर्ने
कुनै खास स्थान पनि हुने छैन
जहाँ यात्रा र यात्री
दुवै हराएर
केवल यात्रा मात्रै बाँकी रहनेछ
एउटा अन्तिम यात्रा –
रोमान्चित ब्रह्माण्ड, अर्थात्
‘द लास्ट डेस्टिनेसन’ को
उन्मुक्त ‘नोस्टाल्जिया’ बनेर।
