इलामको सप्तमाई गुरुकुलमा लिङ्ग महापुराण
इलाम। इलाम नगरपालिका-५ तोरिबारीस्थित श्री सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र तथा श्री सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम माध्यमिक विद्यालयको सातौँ वार्षिकोत्सवका अवसरमा विशेष धार्मिक अनुष्ठान हुने भएको छ।
वैशाख ९ गते बुधबारदेखि वैशाख १६ गतेसम्म सात दिवसीय ‘श्री लिङ्ग महापुराण ज्ञान महायज्ञ’ आयोजना हुन लागेको हो।
महायज्ञमा प्रखर वाचक व्यासाचार्य गुरु लक्ष्मीप्रसाद खतिवडाले सङ्गीतमय कथा प्रवचन गर्नेछन्। त्यस्तै गुरुकुलका गुरु आचार्य पण्डित युवराज घिमिरेबाट मूल पाठपारायण हुने आयोजकले जनाएको छ।
वैदिक सनातन धर्मको संरक्षण, अक्षयकोष विस्तार, छात्रवृत्ति कोष वृद्धि र आवासिय विद्यार्थीका लागि खाद्यान्न व्यवस्थापन गर्ने मुख्य उद्देश्यका साथ महायज्ञ सञ्चालन गर्न लागिएको हो।
यस्तो छ कार्यक्रमको तालिका :
वैशाख ९ गते बिहान नान्दीमुखी श्राद्ध र मातृका पूजापछि बिहान १० बजे बिब्ल्याँटे बजार, जिरो किलोमिटर र इलाम बजारको परिक्रमा गरी कलश यात्रा निकालिने छ। दिउँसो १ बजे महायज्ञको विधिवत् उद्घाटन र मण्डप पूजन हुनेछ।
वैशाख १० देखि १५ गतेसम्म दैनिक रूपमा बिहान ७ बजेदेखि पूजाअर्चना र ८ बजेदेखि मूल पाठपारायण हुनेछ। बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सङ्गीतमय कथा प्रवचन, १ देखि ३ बजेसम्म पुनः पाठपारायण र आरती हुनेछ।
अपराह्न ३ देखि ५ बजेसम्म विद्यालयका बटुकहरूबाट विभिन्न स्तोत्र र रत्नावली पाठ गरिनेछ भने साँझ ७ देखि ९ बजेसम्म धार्मिक प्रवचन र भजन कीर्तन हुने तालिका छ।
वैशाख १६ गते अन्तिम दिन विष्णुसहस्त्रनाम स्तोत्रद्वारा तिलार्चन, हवन र पूर्णाहूतिका साथ महायज्ञको समापन गरिने गुरुकुलले जनाएको छ। महायज्ञमा सपरिवार उपस्थित भई पुण्य आर्जन गर्न श्रद्धालु भक्तजनहरूमा आयोजकले अनुरोध गरेको छ।
के हो लिङ्ग महापुराण ?
हिन्दु धर्मका १८ पुराणमध्ये लिङ्ग पुराण एक महत्वपूर्ण पुराण हो, जसलाई ‘शिव पुराण’ को पूरक ग्रन्थका रूपमा पनि लिइन्छ। यस पुराणको मुख्य विषयवस्तु भगवान शिवको महिमा र निराकार ब्रह्मको प्रतीक ‘लिङ्ग’ को आध्यात्मिक अर्थ बुझाउनु हो।
यसका केही मुख्य पक्षहरू यस प्रकार छन् :
-
सृष्टिको उत्पत्ति : यस पुराणमा भगवान शिवलाई सृष्टिको आदि कारण मानिएको छ। ‘लिङ्ग’ शब्दको अर्थ यहाँ कुनै शारीरिक अङ्ग नभई ‘चिह्न’ वा ‘प्रतीक’ हो, जसले निराकार ईश्वरको आकारमा प्रकट हुने अवस्थालाई बुझाउँछ।
-
शिव महिमा र अवतार : यसमा शिवका विभिन्न २८ अवतारहरूको वर्णन गरिएको छ। साथै, ब्रह्मा र विष्णुका बीचमा भएको विवाद सुल्झाउन भगवान शिव ज्योतिर्लिङ्गका रूपमा प्रकट भएको प्रख्यात कथा पनि यसैमा समावेश छ।
-
योग र ध्यान : लिङ्ग पुराणमा योगका अङ्गहरू, ध्यान विधि, र पाशुपत व्रतका बारेमा विस्तृत चर्चा गरिएको छ। आध्यात्मिक शान्ति र आत्मज्ञानका लागि योगको महत्वलाई यसले जोड दिएको छ।
-
धार्मिक भूगोल र खगोल : यस पुराणमा पृथ्वीको भूगोल, विभिन्न लोकहरू, सूर्य र चन्द्रमाको स्थिति तथा काल (समय) को गणनाका बारेमा पनि रोचक जानकारीहरू दिइएका छन्।
-
पूजा र विधि : पञ्चाक्षर मन्त्र (ॐ नमः शिवाय) को महिमा, लिङ्ग स्थापनाको विधि र विभिन्न तीर्थस्थलहरूको महत्वका बारेमा यसमा उल्लेख गरिएको छ।
-
लिङ्ग पुराणले अनुशासन, पवित्रता र ईश्वरप्रतिको समर्पणमार्फत कसरी जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने सन्देश दिन्छ।
