रास्वपा बैठकः के होला गृहमन्त्रीबारे निर्णय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो सवा ४ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने र ९ बुँदे एजेन्डामा केन्द्रित रहने गरी यो बैठक बोलाइएको हो।

बैठकमा विशेषगरी केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा र पार्टी विधान संशोधनका विषयमा छलफल हुने कार्यसूची छ। सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठक साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीमा केन्द्रित रहनेछ।

यद्यपि, पूर्व निर्धारित एजेन्डाबाहेक पार्टीका सांसद एवं गृहमन्त्री सुधन गुरुङ र व्यापारी दीपक भट्टबीचको सेयर लगानीसम्बन्धी विवादले पनि बैठकमा प्रवेश पाउने भएको छ। गृहमन्त्रीको व्यावसायिक सम्बन्धबारे सार्वजनिक प्रश्न उठेकाले त्यसबारे बैठकमा छलफल हुने र पार्टीले स्पष्ट धारणा ल्याउने आचार्यले बताए।

आइतबारको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गर्ने, समानुपातिक सांसदहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रवास विभाग प्रमुखमा दीपक बोहरालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो। ती निर्णयहरूलाई आजको बैठकले औपचारिक रूपमा अनुमोदन गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *