इतिहासका जीवित अनुहारहरू

२०८२ साल मेरो लागि सिर्जना र पदयात्राको वर्ष मात्र रहेन, यो त इतिहासका जिउँदा-जाग्दा धरोहरहरूसँगको साक्षात्कारको वर्ष पनि बन्यो । एउटा लेखकका लागि उसका कृतिहरू शरीर हुन् भने अग्रजहरूको आशीर्वचन र सामीप्य त्यसको प्राण हो । यो वर्ष मैले नेपाली कला, साहित्य, इतिहास र संस्कृतिका ती नक्षत्रहरूलाई भेट्ने र सुन्ने अवसर पाएँ, जो उमेरको उत्तरार्धमा पनि सिर्जनाको अनवरत यात्रामा निरन्तर सिर्जनारत् छन् ।

९९ वर्षको उमेरमा पनि ढुङ्गामा प्राण भर्न तल्लीन वरिष्ठ मूर्तिकार प्रा. गोविन्दनारायण ज्यापुदेखि ९२ वर्षको उमेरमा पनि शब्दको माधुर्य छरिरहेका तेजेश्वरबाबु ग्वङ्गः र द्वारिका श्रेष्ठसम्मको ऊर्जा देख्दा मलाई समय थामिएको महसुस हुन्छ । इतिहासकार डा. महेशराज पन्तको गहनता, वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठको प्रकृतिप्रतिको दृष्टि, वरिष्ठ कवि तुलसी दिवसको लोक-चेत, घनश्याम राजकर्णिकार, डा. ध्रुवचन्द्र गौतमको यात्रासंस्मरण र आख्यान शिल्प आफैँमा वयोवृद्ध उमेरका सौगात हुन् । यी सबैले मेरो सिर्जनशील मनलाई नयाँ उचाइ प्रदान गरिरहेका छन् ।

त्यसैगरी ९२ वर्षका कलाकार कृष्णगोपाल रञ्जित, ठाकुरप्रसाद मैनाली, संस्कृतिविद् हरिराम जोशी, ८० वर्ष उकालो उमेरका कलाकारहरू शशीविक्रम शाह, उर्मिला उपाध्याय, शारदा चित्रकार, गेहेन्द्रमान अमात्य, दुर्गा बराल, विजय थापा जो अझै पनि नवीन सिर्जनामा मग्न छन्; उनीहरूको त्यो साधना देख्दा मलाई बोध भयो– सिर्जनाको कुनै अवकाश हुँदैन र उमेर त एउटा संख्या मात्र रहेछ ।

उनीहरूका ती अनुभवी हातहरूबाट थापेको आशीर्वाद र सामीप्यमा बिताएका ती पलहरू मेरा लागि २०८२ सालका सबैभन्दा ठूला उपलब्धि हुन् । ती भेटघाट र भलाकुसारीहरूबाट मैले थाहा पाएँ- एउटा लेखकले लेख्नु मात्र पर्याप्त हुँदैन, उसले त आफ्नो कला, संस्कृति, इतिहासका डोबलाई खोतल्दै अग्रजहरूको सुकिलो पाटो र अनुकरणीय पक्षलाई पनि आत्मसात् गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार लक्ष्मण श्रेष्ठको बारेमा लेखेको लेख होस् या ‘रचना’ का सम्पादक रोचक घिमिरे र ‘अभिव्यक्ति’ का सम्पादक नगेन्द्रराज शर्माको अभिबन्धन तथा शंकर लामिछाने, परशु प्रधान, लैनसिंह बाङ्देलमाथि मेरो संस्मरण-निबन्ध मेरा लेखनका चित्तबुझ्दा अनुभूति हुन् । त्यस्तै आख्यानशिल्पीद्वय पद्मावती सिंह र भागिरथी श्रेष्ठ, कलाकार श्यामदास अशान्त, व्याकरणविद् चूडामणि गौतमलाई शब्दमा उतारेका अनुभूतिहरू अग्रजप्रतिको मेरा श्रद्धाभाव हुन् ।

२०८२ साल बिदवारीको क्षणमा म जीवित अग्रजहरूको आशीर्वादले अनुगृहीत छु । मेरो मानसपटलमा ती आदरणीय आकृतिहरू पनि सलबलाइरहेका छन्, जो आज शरीरले हामीमाझ नभए पनि आफ्ना कालजयी सिर्जनामार्फत मभित्र बाँचिरहेका छन् । मेरा लागि यो वर्ष ती दिवङ्गत नक्षत्रहरूलाई शब्द-पुष्पमार्फत स्मरण गर्ने र उनीहरूमाथि लेखिएका लेखहरूलाई पुनः स्पर्श गर्ने एउटा आध्यात्मिक अवसर पनि बन्यो ।

अक्षरको आकाशमा अस्ताएका नक्षत्रहरूलाई स्मृतिको सुगन्धमा रमाउँदै अभिव्यक्तिमा भेट्नु एउटा सुखद सम्झना-विम्ब हो । समयले मानिसलाई भूगोलबाट मेटाउन सक्छ, तर भावना र अक्षरको देशबाट कहिल्यै मेटाउन सक्दैन । २०८२ सालको उत्तरार्धमा उभिएर जब म आफ्ना पुराना पाण्डुलिपि र लेखहरू पल्टाउँछु, म ती महान् सर्जकहरूको सामीप्य महसुस गर्छु, जसले नेपाली साहित्यको जगलाई मजबुत बनाएर गए ।

शब्द र शिल्पीका सारथिहरू मेरा संगत, साथ र सद्भावका आदरणीय अग्रज हुन् । भाषाविद् तथा साहित्यकार कृष्णप्रसाद पराजुलीलाई पनि गएको वर्ष मैले मेरो अनुभूतिका अक्षरहरूमा सम्झेर केही भावना स्मरण गरेँ । समालोचक ईश्वर बराललाई पनि त्यसैगरी शब्दमा उनेर बरालसँगको आत्मीयता सार्वजनिक गरेँ ।

मेरो लेखनको एउटा ठूलो हिस्सा कविवर केदारमान व्यथितका अजम्बरी भावहरू र डा. ईश्वर बरालको प्रखर समालोचकीय दृष्टिलाई अर्पण गरिएको छ । व्यथितका कवितामा भेटिने त्यो ओज र बरालले साहित्यलाई हेर्ने त्यो दार्शनिक चस्मा, यी दुवै मेरो सिर्जनात्मक यात्राका पाठशाला हुन् । उनीहरूका बारेमा लेख्दा मलाई सधैँ यस्तो लाग्छ– मानौँ म नेपाली साहित्यको एउटा स्वर्णिम युगको पुनरावलोकन गरिरहेछु ।

यसैबीच आयामेली चेत र हास्यको गहिराइमा पनि डुबेँ । ईश्वरबल्लभका कवितामा भेटिने आयामेली गहिराइ र शब्दहरूको नवीन विन्यासले मलाई सधैँ चमत्कृत तुल्याउँछ । बल्लभको बौद्धिकतालाई शब्दमा उतार्नु मेरो लागि आफैँलाई तिखार्नु जस्तै हो । उता, बासुदेव शर्मा लुइटेलको हास्यव्यङ्ग्यको त्यो ‘लुइटेल शैली’, जसले समाजलाई हँसाउँदै गम्भीर प्रश्नहरू छोडेर जान्थ्यो, आजको कोलाहलपूर्ण समयमा अझ बढी सान्दर्भिक लाग्छ । उनको सद्भाव, शुभेच्छा र शुभाशीर्वादलाई शब्दमा उनेर सम्झनाको श्रद्धा अर्पण गरेँ ।

कृष्णचन्द्रसिंह प्रधानको जन्म शताब्दीका अवसरमा मैले उनलाई सम्झनाको दियो बालेर स्मृति-अभिलेख लेखेँ । प्रधानले मेरो नियात्रा ‘प्रणय र पाइला’ को भूमिका लेखेका थिए । मेरो कृतिमाथि प्रधानको लेखन सन्दर्भलाई आधारभूमि बनाएर उनीप्रतिको मेरो हार्दिकता प्रकट गरेँ ।

आख्यानका जादुगर रमेश विकल र परशु प्रधान नेपाली कथा र उपन्यासका दुई यस्ता खम्बा हुन्, जसले समाजको पिँधमा रहेका मानिसका कथालाई मूलधारमा ल्याए । विकलको ग्रामीण यथार्थ र प्रधानको सहरी मध्यमवर्गीय जीवनको चित्रणलाई मैले आफ्ना लेखहरूमा सजीव बनाउने प्रयत्न गरेको छु । त्यस्तै बालमनका साथी, संस्कृतिविद्, गीतकार तथा कवि ध्रुवकृष्ण दीपको बहुआयामिक व्यक्तित्व, जो कहिले संस्कृतिको व्याख्याता बनेर त कहिले बालसाहित्यको कोमल लहरा बनेर नेपाली साहित्यमा छाए, उनको अभाव आज पनि उत्तिकै खड्किरहन्छ ।

सिर्जनाको अविच्छिन्न उत्तराधिकारी यी दिवङ्गत अग्रजहरू इतिहासका पात्र मात्र होइनन्, मेरा लागि ती मार्गदर्शक हुन् जसले मलाई ‘अक्षर साधना’ को बाटो देखाइदिए । इतिहासका ती जीवित अनुहारहरूमाथि लेखिएका यी लेखहरू स्मृतिका साथै मेरो तर्फबाट ती महान् आत्माहरूप्रति चढाइएको एउटा साहित्यिक शब्द-श्रद्धाञ्जली पनि हुन् ।

२०८२ सालले सर्जक मर्छ तर सिर्जना कहिल्यै मर्दैन भन्ने सत्यलाई मनन गराउँदै सचेत गराएको छ । इतिहासमा जीवित दिवङ्गत अग्रजहरूको विरासतलाई जोगाउँदै र उनीहरूले छोडेर गएका सिर्जनाको दियोलाई अझ प्रज्ज्वलित बनाउँदै म २०८३ सालको नयाँ गोरेटोमा नवीन सोचशैली र शिल्प-सौन्दर्यका साथ उत्साहको पाइला चाल्ने सङ्कल्प गर्छु ।

एकातिर सगरमाथाको शिर टेक्न नसके पनि आधार शिविरसम्म पुग्ने आँट र अर्कोतिर यी जीवित इतिहासहरूको पाउ छुने अवसर; यी दुईको सङ्गम नै मेरो २०८२ सालको पूर्णता हो । आदरणीय अग्रजहरूको कर्मठ जीवनशैलीलाई शिरोपर गर्दै, तिनले देखाएका सिर्जनाको उज्यालो बाटोमा आफ्ना पदचापहरूलाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ म नयाँ वर्ष २०८३ सालको ढोका उघार्दैछु।

मेरा लागि अग्रजहरू मार्गदर्शक मात्र होइनन्, उनीहरू त अनुभवका जीवन्त विश्वविद्यालय हुन् । ८० र ९० को दशकमा पनि निरन्तर कर्मठ देखिने ती आदरणीय व्यक्तित्वहरूको प्रेरणाको आलोकले मेरो लेखनलाई अझै परिष्कृत र जीवनमुखी बनाउनेछ भन्नेमा म विश्वस्त छु । विगतको अनुभव र अग्रजको प्रेरणा नै मेरो आगामी यात्राका सारथि हुन् ।

२०८३ सालको हार्दिक शुभकामना !


प्रतिक्रिया

One thought on “इतिहासका जीवित अनुहारहरू

  1. ८० र ९० को दशकमा पनि निरन्तर कर्मठ देखिने ती आदरणीय व्यक्तित्वहरूको प्रेरणाको आलोकले मेरो लेखनलाई अझै परिष्कृत र जीवनमुखी बनाउनेछ भन्नेमा म विश्वस्त छु ।
    —–
    मिठो निचोड।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *