कस्तो रहनेछ २०८३ साल ? यस्तो छ शास्त्रीय विश्लेषण

तस्करश्चपलो धृष्टः परद्रब्यरतः सदा ।
निन्द्यानि सर्वकर्माणि कुरुते रुद्रसंवत्सरः ।।

वि.सं. २०८३ मा ‘रौद्र’ नामको संवत्सर रहनेछ। यसको फल यसप्रकार रहनेछ : दुराचारीहरूको जमघट हुने, निर्दयीहरूले सज्जनहरूका बारेमा नकारात्मक सोच राख्ने अनि सद्भाव र सहकार्यमा अग्रसर हुनेहरूलाई निस्तेज गराउने काम गर्नेछन्। अरूको सम्पत्तिमा कुदृष्टि लगाउने, वैरभावको बढोत्तरी गर्दै मेलमिलाप भङ्ग गर्न बल पुर्‍याउने एवं राष्ट्र र राष्ट्रियता कमजोर बनाउँदै व्यक्तिगत लाभमा अग्रसर हुने गतिविधि बढ्नेछन्।

यस वर्षको राजा गुरु हुन् भने मन्त्री पदमा मङ्गल रहेका छन्। गुरु र मङ्गल परस्पर मित्र ग्रह हुन्। राजा र मन्त्रीको मित्रभावमा गठित ग्रहहरूले आ-आफ्नो जिम्मेवारीमा दत्तचित्त भई काम गर्नेछन्। यो नेपालका लागि यसकारण शुभ वर्ष बन्नेछ कि दुवै ग्रह नेपाल र नेपालीको हितमा काम गर्न तत्पर रहनेछन्। नेपालको राशिदेखि राशिस्वामी, द्वितीय र पञ्चम घरको मालिक, धर्म र सैन्यकारक ग्रह क्रमशः राजा (गुरु) र मन्त्री (मङ्गल) बनेका छन्।

अर्को महत्त्वपूर्ण कुरा, हाम्रो धर्म नै सदासर्वदा विजयी शक्ति हो। धर्माधिकारी र सेनाधिकारी ग्रहको संयोग परेको वर्ष भएकाले सकारात्मक आमूल परिवर्तन हुने योग भए पनि प्रशस्त सङ्कटको सामना गर्नुपर्ने देखिन्छ। खण्डवृष्टि र अतिवृष्टि देखिए पनि वर्षाको अवस्था राम्रो रहनेछ। वर्षफल तयार पार्दा वर्षको राजा, मन्त्री, वर्षारम्भको लग्न र लग्नको मालिकको अवस्था पनि महत्त्वपूर्ण हुन्छ। यी सबैलाई हेर्दा यस वर्षको वर्षारम्भ कर्कट लग्नमा भएको छ।

लग्नेश चन्द्रमा ग्रहणयोगयुक्त भई अष्टम स्थानमा बसेकाले आर्थिक सङ्कटले राज्य सञ्चालनमा ठूलो कठिनाइ आउनेछ। द्वितीयेश सूर्य उच्च भई दशम भावमा चतुर्थेश एवं एकादशेश शुक्रका साथ बसेको र भाग्येश गुरु द्वादश तथा द्वादशेश बुधले घर परिवर्तन गरेकाले खर्चको भार धेरै बढ्ने देखिन्छ। वर्षको राजा गुरु (भाग्येश र षष्ठेश) द्वादश भावमा र सप्तमेश, पञ्चमेश एवं द्वादशेशको समन्वय भाग्यभावमा हुँदा वैदेशिक हस्तक्षेपले देशको भाग्य ओझेलमा पर्न सक्छ।

अष्टम चन्द्रमाको अशुभ प्रभावका साथै बृहस्पति नेपाल देशको द्वितीय र पञ्चमाधिपति भई यस वर्षको राजा रहेका छन्। गुरु जग लग्नदेखि बाह्रौँ र देशको राशिदेखि अष्टम हुँदा आर्थिक हिसाबले जर्जर हुने वर्ष बन्न सक्छ। देशको दशमाधिपति एवं जग लग्नको द्वितीय भावको मालिक सूर्य शक्तिशाली दशममा जग लग्नदेखि चतुर्थ र एकादश भावको मालिक शुक्रका साथ रहेकाले महिला शक्तिको प्रेरणाले विभिन्न कठिनाइको सामना गरेर अघि बढ्न सबैमा उत्सुकता जगाउनेछ।

वर्ष लग्नदेखि नवौँ भावमा तृतीय, पञ्चम र सप्तमका मालिक क्रमशः बुध, मङ्गल र शनि बसेकाले देशका बौद्धिक व्यक्तिहरू मिलेर वैज्ञानिक कार्यमा अग्रसर हुनेछन्। वैज्ञानिक कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन पर्याप्त प्रयास हुनेछन्। ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ। यद्यपि कृषि क्षेत्रको अवस्था सन्तोषप्रद नरहला। फलफूल, तरकारी, दूध तथा रसपदार्थहरूको उत्पादनमा कमी आउनेछ।

पञ्चम र दशमको मालिक सेनापति ग्रह मङ्गल, यस वर्षको राजा गुरुको राशिमा शनि र बुधसहित एकै ठाउँ बसेकाले सुरक्षा संयन्त्र उच्च मनोबलका साथ देशको बेथिति र विसङ्गतिले बढेको द्वन्द्व समाधानका निम्ति सक्रिय हुने सम्भावना छ। वर्षारम्भदेखि आगामी ज्येष्ठ १८ रातिसम्म रहने अष्टम गुरु र मार्ग १९ सम्म रहने चतुर्थ राहुले वैदेशिक व्यापारमा प्रशस्त घाटा गराउन सक्छन्। राजस्वमा पनि गिरावट आउने योग छ। आयातमुखी व्यापारका कारण सामान्य आर्थिक वृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पुँजी निकै कमजोर हुनेछ।

आर्थिक अवस्था जटिल रहनेछ। वर्षको राजा गुरुको प्रतिकूलता २०८३ ज्येष्ठ १८ गते राति १ बजेर ४५ मिनेटसम्म रहनेछ। आषाढ ३२ देखि श्रावण २४ सम्म गुरु अस्त हुने र मार्ग २३ गतेबाट वर्षभरि नै वक्री रहनेछन्। यसैबीच माघ १ देखि चैत १३ सम्म वर्षको मन्त्री ग्रह (मङ्गल) समेत वक्री हुने र फागुन २५ देखि नीच भई नेपालको भाग्यभावमा रहने भएकाले समय अत्यन्तै प्रतिकूल हुनेछ।

यस अवधिमा अज्ञात रोग, महामारी, आगजनी र चोरी-लुटपाट बढ्न सक्छ। प्राकृतिक प्रकोप, विमान दुर्घटना र भूकम्पजस्ता अप्रिय घटना र घरेलु राजनीतिक शक्तिबीच चरम द्वन्द्व हुने देखिन्छ। राजनीति तरल रहनेछ भने अराजक समूहहरू हावी हुनेछन्।

देशमा आर्थिक कठिनािका कारण आन्तरिक कलह चरम हुनेछ। यसैलाई बहाना बनाएर विदेशी शक्तिहरूको उपस्थिति बढ्दै जाने र राष्ट्रिय शक्तिहरू कमजोर हुने सम्भावना छ। यस्तो स्थितिमा आन्तरिक सुरक्षाको आवश्यकता औँल्याउँदै बाह्य शक्ति सूक्ष्म तरिकाले प्रवेश गर्ने सम्भावना रहन्छ।

धर्माधिकारी गुरु प्रतिकूल रहँदा बाह्य धर्महरूले राष्ट्रिय धर्मलाई निस्तेज गर्ने गरी घुसपैठ गर्दा स्वधर्म बचाउका लागि कडा सङ्घर्ष हुन सक्छ। अन्ततः मार्ग २० गतेदेखि मकरमा राहु जाने ग्रहयोगले सनातनी शक्तिले विजय हासिल गरी जनचाहनाअनुरूप देश र प्रजातन्त्रलाई अघि बढाउनेछन्।

राजनीतिक र देशमा शान्ति, अमनचयनका लागि सैन्य शक्ति गुहार्न अग्रसर हुने प्रबल सम्भावना छ। यस वर्ष अमेरिका तथा हाम्रा निकट छिमेकी देशहरू भारत र भुटानमा आन्तरिक कलह बढ्नेछ। क्षेत्रीय शक्ति एकबद्ध नभएमा बाह्य आक्रमणले सङ्कटग्रस्त बनाउन सक्छ। शक्तिशाली देशहरू चीन, रुस, बेलायत, जर्मनी र जापान आर्थिक उन्नति र आन्तरिक एकताले बलियो हुनेछन्। भारत र फ्रान्स शत्रुबाट घेरिन सक्छन्।

चीनको कूटनीतिक अवस्था केही कमजोर र खर्च वृद्धि हुने भए पनि बौद्धिक अवस्था मजबुत रहनेछ। भुटान, भारत र श्रीलङ्का दैवी प्रकोपको सङ्कटमा पर्न सक्छन्। अमेरिका र अष्ट्रेलियामा राजनीतिक समस्या र आर्थिक सङ्कट आउन सक्छ। युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक सङ्कट उत्पन्न हुन सक्छ।

नेपालमा भने विकृति र विसङ्गति ध्वस्त भई राष्ट्रलाई शक्तिशाली रूपमा विश्वसामु उभ्याउन सक्ने शक्ति निर्माण हुने देखिन्छ। वर्षारम्भमा ग्रहगोचर अनुकूल रहेकाले जटिल बन्दै गएको राजनीतिलाई सहज निकास दिने प्रयत्न हुनेछ। आषाढभरि विविध समस्या र सङ्कट रहे पनि राजा र मन्त्री बलवान् देखिएकाले बौद्धिक वर्ग र सचेत नागरिकले सत्य र शक्तिलाई नै अघि बढाउनेछन्। नेपालले यो वर्ष अत्यन्त दुःखद क्षणलाई सुखद स्थितिमा पुर्‍याउन दैवी शक्तिको आशीर्वाद प्राप्त गर्नेछ।

राहु कुम्भ राशिमै भएकाले वायुमण्डलीय अवस्था प्रतिकूल भई विमान दुर्घटना हुन सक्छ। दुर्घटना वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तित्वको निधन हुने सम्भावना छ। धर्म र राष्ट्रियतालाई गलत व्याख्या गर्नेहरूको समाप्ति र सच्चा राष्ट्रप्रेमीहरूको विजय निश्चित छ। देशमा बढ्ने अराजकताले सैन्य सक्रियता बढ्न सक्छ र राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ। समग्रमा यो वर्ष इमानदारहरूका लागि वरदान र बेइमानहरूका लागि समाप्तिको वर्ष बन्न सक्छ।

साढेसाती र अढैया शनि :

यस वर्ष मेष राशिलाई आद्य, मीनलाई मध्य र कुम्भ राशिलाई अन्त्य साढेसाती रहनेछ। अढैया शनिको प्रभाव सिंह र धनु राशिमा रहनेछ। साढेसातीको प्रभाव जन्मकालमा शनि बलियो हुनेका लागि अनुकूल र कमजोर हुनेका लागि प्रतिकूल रहनेछ। अढैयाको प्रभाव भने कष्टकर हुन सक्छ। शनि प्रभावित व्यक्तिहरूले शनिबार बिहान कालभैरवको पूजा गरी दर्शन गर्नु शुभ हुनेछ। यदि सम्भव भएमा नदीमा पूजा गरी २ मिटर कालो कपडा बगाउँदा शनि दोष कम हुने शास्त्रीय मान्यता छ।

-देश सञ्चार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *