काठमाडौँमा सवारी साधनको न्यूनतम भाडा २४ रुपैयाँ

काठमाडौँ। बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा छुट्टाछुट्टै दर कायम गरिएको छ।

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ। जसअनुसार ५ किलोमिटरसम्म २४ रुपैयाँ, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ कायम गरिएको छ। २० किलोमिटरभन्दा माथिको दूरीका लागि भने ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ।

विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने अहिले भाडा बढाइएको छैन। विद्युतीय सवारीमा २०७९ वैशाख १ गतेदेखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ। प्रदेश सरकारले इन्धनको मूल्यमा भएको वृद्धिलाई आधार मानेर यो भाडा समायोजन गरेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *