विराट गोल्डकपको तयारी पूरा : विजेतालाई ११ लाख
फाइल तस्बिर
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । २०१८ सालदेखि सुरु भएको यस ऐतिहासिक प्रतियोगितामा पहिलोपटक मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबले घरेलु टोलीका रूपमा सहभागिता जनाउने भएको छ।
विराटनगरको सहिद मैदानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक विराट गोल्डकप ट्रष्टले प्रतियोगिताको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी सकिएको जानकारी दियो।
ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले यसअघि आयोजक आफैँले टोली बनाउने परम्परा तोड्दै यसपटक व्यावसायिक क्लबलाई अवसर दिइएको बताए। उनका अनुसार पछिल्लो आठ पटकको जिल्ला लिग विजेता सम्राट स्पोर्टिङले पहिलोपटक गोल्डकपमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीलाई चुनौती दिनेछ।
चैत २८ देखि २०८३ वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका उत्कृष्ट खेलाडीसहित विभिन्न ४ विधामा पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष शाहीले जानकारी दिए।
प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब, उपविजेता चर्च ब्वाइज युनाइटेड, विभागीय टोलीहरू त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबका साथै झापा-११ को सहभागिता रहनेछ। यस्तै, भारतको झारखण्डस्थित ‘अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमी’ले पनि यसपटक मैदानमा प्रतिस्पर्धा गर्नेछ।
मैदान र फ्लड लाइट मर्मतका क्रममा केही समस्या रहेको ट्रष्टका महासचिव विनेश बस्नेतले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेको जेनेरेटर बिग्रिएका कारण फ्लड लाइट सञ्चालन गर्न थप खर्च लाग्ने र दैनिक ५ हजार रुपैयाँ बोर्डलाई बुझाउनुपर्ने उनले जानकारी दिए। फ्लड लाइट मर्मत र मैदान व्यवस्थापनका कामलाई तीव्रता दिइएको आयोजकले जनाएको छ।
