एक समर्पित सेवा यात्राको अन्त्य

इलाम । इलामको स्वास्थ्य सेवामा दशकौँदेखि निस्वार्थ सेवा गर्दै आएका आदरणीय व्यक्तित्व अमृत राईको ७१ वर्षको उमेरमा निधन भएको छ ।

झापाको भद्रपुरस्थित ॐ साई पाथीभरा अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ८:३५ बजे उनले अन्तिम श्वास फेरेका हुन् । उनको निधनको खबरले सिंगो इलामेली समाजलाई स्तब्ध र मर्माहत बनाएको छ ।

औपचारिक रूपमा उनी ‘कम्पाउन्डर’ भए पनि इलामेली जनताको मनमुटुमा सधैं ‘डाक्टर’ का रूपमा स्थापित रहे । खासगरी ४० र ५० को दशकमा जब स्वास्थ्य सेवा सहज थिएन, इलाममा बिरामी पर्दा सबैको मुखमा झुण्डिने नाम थियो- अमृत राई ।

उनी केवल एक स्वास्थ्यकर्मी मात्र नभएर धेरैका लागि बाल्यकालका अभिभावकजस्तै थिए । ज्वरो, रुघाखोकी वा चोटपटक लाग्दा उनको सानो क्लिनिक र आत्मीय व्यवहार नै बिरामीका लागि सबैभन्दा ठूलो ओखती बन्ने गर्दथ्यो ।

मध्यरातको समय होस् या झरीबादल, कसैलाई समस्या पर्दा उनी कहिल्यै थाकेनन् र नहिच्किचाई बिरामीको घरदैलोमा पुगे । उनले दिने औषधिभन्दा पनि मिठो बोली र भरोसाले धेरैको आधा रोग निको हुने गरेको पुराना अनुभवहरू इलामेलीहरू सुनाउँछन् ।

हजारौँको जीवन बचाउने र असंख्य अनुहारमा मुस्कान फर्काउने त्यो समर्पित हात आज सधैंका लागि रोकिएको छ । अमृतले बिताएको जीवन एउटा पेसा मात्र नभएर सेवा र धर्मको एउटा उत्कृष्ट उदाहरण थियो ।

यसैबीच, राईको निधनप्रति धेरै इलामेलीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्। इलामे अगुवा धीरेन चेम्जोङले इलामको स्वास्थ्य क्षेत्रको एक स्तम्भ, सबैका प्रिय एवं आदरणीय, सरल हरदमको सहयोगी स्वास्थ्यकर्मी गुमाएको उल्लेख गरेका छन्। यस घटनाले आफूहरू स्तब्ध एवं मर्माहत भएको उनले लेखेका छन्।

यसैगरी तीर्थराज भट्टराईले पनि राईको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘उबेला अस्पतालमा डाक्टर नियमित नहुँदा हाम्रा लागि उहाँ नै बिरामीको सहारा र भरोसा हुनहुन्थ्यो। स्वास्थ्य सेवामा अमृत दाइको योगदान इलामेलीहरूका लागि अतुलनीय थियो।’

पत्रकार विजयशेखर भट्टराईले राईको निधनमा दुःख व्यक्त गर्दै लेखेका छन्, ‘अमृत दाईले धेरै मानिसहरूको सेवा गर्नुभएको छ, उहाँको यो सेवा अविस्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु दाई।’

यस्तै, भीम अधिकारी लेख्छन्, ‘२०५३ देखि २०५७ को इलाम बसाइको क्रममा उहाँबाट धेरै सेवा लिने मध्ये म पनि एक हुँ। यो खबरले अत्यन्त दुःखी तुल्याएको छ। भावपूर्ण हार्दिक श्रद्धाञ्जली।’

कुनै समय उनका सहपाठी रहेका यादव अधिकारीले लेखेका छन्, ‘अपत्यारिलो सत्य, शिक्षाको फलामे गेट तत्कालीन एसएलसी परीक्षा पास गरेपछि इलाम क्याम्पस जाने हुटहटीमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दाका सहपाठी अमृतजी, सरकारी जागिरमा पनि सदैव भेट भइरहने साथीको परमधाम गमनको अप्रत्यासित खबरले स्तब्ध र दुःखी बनायो, साथीको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *