एमाले विशेष महाधिवेशन: हस्ताक्षर नरोके कारबाही गर्ने बादलको चेतावनी
काठमाडौँ । नेकपा एमालेले विशेष महाधिवेशनको माग गर्दै थालिएको हस्ताक्षर अभियान तत्काल बन्द गर्न चेतावनी दिएको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाएर हस्ताक्षर अभियान तत्काल नरोके कारबाही गर्ने सम्मको चेतावनी दिएका हुन् ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका एमाले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया र अनेरास्ववियुका उपमहासचिव कमल जोशीलगायतलाई पार्टी कार्यालयमा बोलाएर हस्ताक्षर अभियान तत्काल रोक्न निर्देशन दिएको एक नेताले बताए ।
कार्यवाहक अध्यक्ष थापा, महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसँगको छलफलका क्रममा अभियानकर्ताहरूले स्पष्ट कारण बिना हस्ताक्षर अभियान नरोकिने अडान राखेका छन् । छलफलका क्रममा कार्यवाहक अध्यक्ष बादलले अभियान नरोके पार्टीले विद्रोह दबाउन सक्ने भन्दै दबाब दिएका थिए ।
जवाफमा विशेष महाधिवेशन पक्षधरले राज्यविरुद्ध बन्दुक उठाएर विद्रोह गरेको व्यक्तिले पार्टीभित्रका युवाको आवाज कसरी दबाउनुहुन्छ भनेर प्रश्न गरेका थिए । थापाले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव ल्याउने आश्वासन दिए पनि अभियानकर्ताहरूले लिखित प्रतिबद्धता मागेका थिए । लिखित प्रतिबद्धता जनाउन थापा तयार नभएपछि दुई पक्षबीच नोकझोक समेत भएको थियो ।
छलफलमा सहभागी अनेरास्ववियुका उपमहासचिव जोशीले संवाद टुङ्गोमा नपुगेको बताए । उपाध्यक्ष विष्णु पौडेलले भने मध्यमार्गी उपाय अपनाउन आग्रह गरेका थिए । नेकपा एमालेमा फागुन २१ को निर्वाचनमा पार्टीले शर्मनाक हार व्यहोरेको भन्दै नेतृत्व परिवर्तनको मागसहित युवा, विद्यार्थी र बुद्धिजीवीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका हुन् ।
पार्टी संस्थापन पक्ष यो मागप्रति सकारात्मक देखिएको छैन । जेनजी आन्दोलनको भावना अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने कार्यकर्ताको चाहना भए पनि केपी शर्मा ओलीसहितका दोस्रो र तेस्रो पुस्ताका नेताहरू सक्रिय राजनीतिबाट बिदा लिन तयार भएका छैनन् ।
