ट्रम्पको चेतावनी: सम्झौता नभए आज राति एउटा ‘सभ्यता’ समाप्त हुनेछ
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो मङ्गलबारको समयसीमाभित्र सम्झौता गर्न पुनः आग्रह गर्दै यदि द्वन्द्व अन्त्यका लागि सहमति नभए आज राति एउटा ‘पूर्ण सभ्यता’ समाप्त हुने चेतावनी दिएका छन्।
इरानसँगको बढ्दो तनावका बीच ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो कडा टिप्पणी गरेका हुन्।
“आज राति एउटा पूर्ण सभ्यता मर्नेछ, जुन फेरि कहिल्यै फर्केर आउने छैन। म त्यस्तो भएको चाहन्न, तर सम्भवतः यो हुनेछ,” ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्। विश्वको लामो र जटिल इतिहासमा आजको रात सबैभन्दा महत्त्वपूर्ण क्षणमध्ये एक हुने र यसको नतिजा केही समयमै थाहा हुने उनले बताएका छन्।
ट्रम्पको यो बयानले विश्व राजनीतिमा ठुलो तरङ्ग पैदा गरेको छ। उनले इरानलाई सम्झौताका लागि दबाब दिँदै नभए गम्भीर सैन्य कारबाही हुनसक्ने सङ्केत गरेका छन्।
इरानले भने अमेरिकी समयसीमा र दबाबको विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। दुई देशबीचको यो टकरावले मध्यपूर्वमा ठुलो युद्धको खतरा बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन्।

