एसईई दिएर फर्किएका ३ जना विद्यार्थीको दुर्घटनामा मृत्यु

काठमाडौँ। महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा पर्ने बथनाहा गाउँमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ। मंगलबार बिहान एकडारा गाउँपालिका-५, बथनाहामा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दुर्घटनालगत्तै दुवै मोटरसाइकलमा आगो लागेको थियो।

आगलागीका कारण तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरू एसइई परीक्षा दिएर घर फर्किँदै गरेका विद्यार्थी रहेको बताइएको छ। मोटरसाइकल पूर्ण रूपमा जलेकाले नम्बर प्लेट समेत नदेखिने अवस्थामा रहेको र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र एक जनाको अवस्था मध्यम रहेको छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *