चुरे पदयात्राको आकर्षण: तिनकुने पर्यटन महोत्सव

चुलाचुली (इलाम) । इलामको चुलाचुली गाउँपालिका पछिल्लो समय महोत्सव र कला संस्कृतिको केन्द्र बन्दै गएको छ। कलाको उर्वर भूमिको रूपमा चिनिने यस पालिकामा यसअघि विभिन्न नाट्य तथा धार्मिक महोत्सवहरू सम्पन्न भइसकेका छन्। यसै सन्दर्भमा ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ भन्ने नाराका साथ आगामी चैत २५ गतेदेखि ‘तिनकुने पर्यटन महोत्सव २०८२’ आयोजना हुने भएको छ।

चुलाचुली-२ स्थित मोरङ्गे झोडामा रहेको तिनकुने पोखरीको खुला मैदानमा सात दिनसम्म महोत्सव सञ्चालन हुनेछ। कार्यक्रम संयोजक नगिन्द्र श्रेष्ठका अनुसार चैत २५ गते समुद्घाटन हुने यो महोत्सव नयाँ वर्षको आगमनसँगै वैशाख १ गते समापन हुनेछ।

स्थानीय कला, संस्कृति, हस्तकला, रैथाने खानपान र प्राकृतिक पर्यटनको पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। श्रेष्ठले महोत्सवलाई स्थानीय पर्यटन र अर्थतन्त्रसँग जोड्ने लक्ष्य राखेका छन्।

उनले भने, “मुख्य रूपमा स्थानीय पर्यटन क्षेत्रका विशेषतालाई व्यवसायसँग जोड्न, युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न र आन्तरिक पर्यटकका लागि चुलाचुलीलाई एउटा गन्तव्य बनाउन यो महोत्सव प्रचारको राम्रो माध्यम बन्नेछ।”

महोत्सवमा मनोरञ्जनका लागि विभिन्न खेल तमासाका साथै साकेला, केलाङ, लाखे नाच, च्याब्रङ र विभिन्न झाँकीहरू प्रदर्शन गरिनेछ। साङ्गीतिक आकर्षणका लागि चर्चित गायक राजेश पायल राई, प्रसिद्ध स्वरका धनी शैल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानका साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन्।

आयोजक समितिकी सचिव सेमन्ता खनालले यो महोत्सव अन्य मेलाभन्दा फरक रहने दाबी गरिन्। उनले भनिन्, “मेला हेर्न आउने पर्यटकले दुई किलोमिटर दूरीमा रहेको चुरे पदयात्रा, तिनकुने पोखरी परिक्रमा र यहाँका धार्मिक तथा प्राकृतिक सम्पदाहरूको स्थलगत अवलोकन समेत गर्न पाउनेछन्।”

भित्रियाने तिनकुने पोखरी पर्यटन सिमसार क्षेत्र व्यवस्थापन समितिको आयोजनामा हुने यस महोत्सवमा करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकले महोत्सव अवधिभर सात हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य लिएको छ।

के हो तिनकुने पोखरी सिमसार?

चुलाचुली गाउँपालिकाले पहिलो पटक घोषणा गरेको पर्यटकीय क्षेत्र ‘तिनकुने पोखरी सिमसार क्षेत्र’ हो। यो चुलाचुली-२ मोरङ्गे झोडाको सामुदायिक वन क्षेत्रमा करिब ६ बिघा जमिनमा फैलिएको छ। पर्यावरण र पर्यटनका हिसाबले यो ठाउँ अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

विगतलाई हेर्दा, २०५२ सालतिर स्थानीय अगुवाहरूले गहिरो खोल्सीलाई बाँध बाँधेर पानी सञ्चित गर्न सुरु गरेका थिए। सुरुमा सिँचाइका लागि प्रयोग गरिने यो पोखरी २०७२ चैत २ गते जिल्ला प्रशासन कार्यालय इलाममा ‘तिनकुने पोखरी सिमसार क्षेत्र’ को नाममा आधिकारिक रूपमा दर्ता भयो।

हाल यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन संरचनाहरू थप परिमार्जन गरिएको छ। चुरे पर्वतको फेदीमा रहेको यो सिमसार जैविक विविधताले भरिपूर्ण छ। राष्ट्रिय सिमसार नीति २०५९ अनुसार पानी जमेर रहने वा बगिरहने ताल, पोखरी र कृषियोग्य जमिनलाई सिमसार मानिन्छ, जसको एउटा सुन्दर उदाहरण यो तिनकुने पोखरी हो।

कसरी पुग्ने?

समुद्री सतहबाट करिब १८५ मिटर उचाइमा रहेको यो स्थल पुग्न निकै सहज छ। पूर्व-पश्चिम राजमार्गको केर्खा वा पाडाजुङ्गी बजारबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटरको दूरीमा यो पोखरी पर्छ।

नर्सरी हुँदै जाने ग्राभेल र कालोपत्रे सडक भएकाले मोटरसाइकल, सफारी, अटो वा साना–ठूला सवारी साधनमार्फत सजिलै यहाँ पुग्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *