शैक्षिक सत्र र दुई दिने बिदाले जन्माएको अन्योल

माननीय शिक्षामन्त्रीज्यू,

मन्त्रिपरिषद्ले हालै गरेका दुईवटा निर्णयले हाम्रो विद्यालय शिक्षाको संरचना र शैक्षिक क्यालेन्डरमा गम्भीर अन्योलता सिर्जना गरेको छ। यी निर्णयहरूले विद्यालय, शिक्षक र विद्यार्थी सबैलाई अन्योलमा पारेकाले यसतर्फ मन्त्रालयको ध्यान जानु जरुरी देखिएको छ।

पहिलो विषय, आगामी वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय हो। पुरानो शैक्षिक क्यालेन्डर अनुसार धेरै विद्यालयले अन्तिम परीक्षा लिइसकेका छन् र नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेका छन्। वैशाख २ गतेदेखि नै नयाँ भर्ना अभियान सुरु गर्ने तयारी भइसकेको थियो।

धेरै स्थानीय तह र विद्यालयले त २०८३ सालको शैक्षिक क्यालेन्डर समेत निर्माण गरिसकेका छन्। यस्तो अवस्थामा अन्तिम समयमा आएर शैक्षिक सत्रको मिति परिवर्तन गरिँदा भर्ना अभियान कहिले सुरु गर्ने, पठनपाठन कहिले थाल्ने र शैक्षिक सत्रको अन्त्य कहिले हुने भन्नेमा ठूलो भ्रम छायो। यो निर्णय यस वर्षका लागि मात्र हो कि सधैँका लागि? अनि कक्षा ११ र १२ को भर्ना कहिले गर्ने? यी प्रश्नहरूको ठोस जवाफ मन्त्रालयले दिनुपर्छ।

दोस्रो विषय, हप्ताको दुई दिन बिदा दिने निर्णय हो। हाम्रो वर्तमान पाठ्यक्रमले हप्ताको एक दिन मात्र बिदा हुने व्यवस्थालाई आधार मानेर न्यूनतम २०५ दिन पठनपाठन हुने गरी पाठ्यघण्टा डिजाइन गरेको छ। सोही अनुसार विषयगत पाठ्यक्रम र पाठ्यवस्तुहरू निर्माण गरिएका छन्। अब हप्तामा दुई दिन बिदा दिँदा निर्धारित पाठ्यघण्टा र कोर्स समयमै पूरा हुने सम्भावना देखिँदैन। यो अवस्थामा वैकल्पिक व्यवस्था के गर्ने र पाठ्यघण्टा कसरी पूरा गर्ने भन्नेमा शिक्षकहरू चिन्तित छन्।

विद्यालय शिक्षामा देखिएका यस्ता व्यवहारिक कठिनाइ र अन्योलताहरूको निराकरण अविलम्ब हुन जरुरी छ। मन्त्रालयले यसबारे छिट्टै स्पष्ट निर्णय लिई शैक्षिक वातावरण सहज बनाओस् भन्ने सम्पूर्ण शिक्षकहरूको अपेक्षा छ।

* * *

मेवाहाङ मोरङको एक विद्यालयमा कार्यरत् प्रधानाध्यापक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *