दोस्रो विश्वयुद्धका भेट्रानको ११० वर्षको उमेरमा निधन
साभारः द क्यानेडियन प्रेस
अन्टारियो। क्यानाडाका सबैभन्दा वृद्ध दोस्रो विश्वयुद्धका भेट्रान बर्डेट ‘बर्ड’ थॉमस सिसलरको ११० वर्षको उमेरमा निधन भएको छ।
उनको गत अप्रिल २ मा प्राकृतिक कारणले निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सिसलरको जन्म अमेरिकाको ओहायोमा भए पनि उनी तीन वर्षको उमेरमै परिवारका साथ क्यानाडा सरेका थिए।उनले सन् १९४३ मा रोयल क्यानेडियन आर्मीमा भर्ना भएर देशको सेवा गरेका थिए।
उनले सेनामा रहँदा रासायनिक युद्ध परीक्षणहरूमा स्वयंसेवकका रूपमा समेत काम गरेका थिए, जसका कारण पछि उनी सहित हजारौं सैनिकहरूले स्वास्थ्य समस्या झेल्नुपरेको थियो। उनले कोर्प्स अफ रोयल क्यानेडियन इलेक्ट्रिकल मेकानिकल इन्जिनियर्समा सार्जेन्टका रूपमा सेवा पुर्याएका थिए।
दोस्रो विश्वयुद्ध सकिएपछि उनले ३० वर्षसम्म क्यानाडा बोर्डर सर्भिस एजेन्सीमा भन्सार एजेन्टका रूपमा काम गरे। उनी आफ्ना ११ नातिनातिना, २२ पनातिपनातिना र १४ खनातिखनातिनीका साथ फोर्ट एरीमा बस्दै आएका थिए।
उनको अन्तिम संस्कार अप्रिल ९ मा फोर्ट एरीमा गरिने कार्यक्रम छ। नियाग्रा फल्सका सांसद वेन गेट्सले सिसलरको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई एक ‘असाधारण व्यक्ति’ र ‘देशको गौरव’ का रूपमा स्मरण गरेका छन्।
-नेपाल टच
