गुण्डागर्दीविरुद्ध अपरेसन : थप १८ जना पक्राउ
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार राति सामाखुसी क्षेत्रबाट गुरुङलाई पक्राउ गरिएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । प्रहरीले शुक्रवार रातिदेखि उपत्यकामा गुण्डागर्दीविरुद्ध विशेष अपरेसन सुरु गरेको हो । सोही अभियानका क्रममा शुक्रवार राति अन्य १७ जनालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताए ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखाको सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए । उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’ का सहयोगी हुन् । घैँटेको मृत्युपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेका गुरुङ आठौँ पटक प्रहरी फन्दामा परेका हुन् ।
पछिल्लो समय जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिने गुरुङ २०७२ सालमा नुवाकोटमा हतियारसहित पक्राउ परेका थिए । त्यतिबेला उनीबाट बुलेटप्रुफ ज्याकेट समेत बरामद भएको थियो । २०७२ पुसमा उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
