वर्षा र बाढीका कारण अफगानिस्तान र पाकिस्तानमा १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा पछिल्लो दुई हप्तामा भएको भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको छ । दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार यसको पुष्टि गरेका हुन् ।
मार्चको अन्त्यदेखि अफगानिस्तानमा आएको भीषण आँधी र वर्षाले बाढी तथा पहिरो निम्त्याउँदा घर र बालीनालीमा ठूलो क्षति पुगेको छ । अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मादले मार्च २६ देखि अहिलेसम्म देशभर बाढी र वर्षाका कारण ७७ जनाको मृत्यु भएको र १३७ जना घाइते भएको जानकारी दिए । उनका अनुसार बितेका ४८ घण्टामा मात्रै बाढी, पहिरो र चट्याङका कारण २६ जनाले ज्यान गुमाएका छन् भने ४८ जना घाइते भएका छन् ।
अफगानिस्तानको दक्षिणपूर्वी गजनीमा शनिबार बिहान आएको बाढीमा डुबेर खेल्दै गरेका एक बालकको मृत्यु भएको छ भने सोही प्रान्तका अन्य जिल्लामा थप दुई बालबालिकाले ज्यान गुमाएका छन् । यस्तै, दक्षिणी कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक पाकिस्तानमा पनि पछिल्ला हप्ताहरूमा भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ । प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तुनख्वामा मार्च २५ देखि यता कम्तीमा ३२ जनाको मृत्यु भएको छ । त्यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा अहिलेसम्म कुल ४४ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ ।
