१५औँ महाधिवेशन तयारीमा जुट्यो कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार चैत २१ गतेदेखि वडा तहसम्मै पुग्ने गरी सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरिएको हो।

यस अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। गाउँ तहसम्म पुग्ने यो विशेष अभियानलाई पार्टीले ‘जरा अभियान’ नामकरण गरेको छ। केन्द्रीय प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमपछि महामन्त्री प्रदीप पौडेलले यस अभियानका बारेमा जानकारी दिए।

उनका अनुसार अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक अवस्थाको अध्ययन, निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने चार मुख्य कामहरू हुनेछन्।

७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर सम्बन्धित जिल्लामा बसेर सदस्यता नवीकरण र वितरणलाई विधानबमोजिम अघि बढाउनेछन्। उनीहरूलाई केन्द्रीय कार्यालयले आवश्यक निर्देशिका, कार्यविधि र जिम्मेवारी सुम्पिएर कार्यक्षेत्रमा पठाएको छ।

यसपटक क्रियाशील सदस्यता नवीकरणमा कांग्रेसले निकै कडा नीति लिएको छ। महामन्त्री पौडेलका अनुसार वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नगर्नेहरूको क्रियाशील सदस्यता स्वतः खारेज हुनेछ।

सदस्यहरूले जुन वडाबाट सदस्यता लिएका हुन्, त्यहीँ पुगेर अनिवार्य नवीकरण गर्नुपर्ने नियम बनाइएको छ। यो नियम सामान्य कार्यकर्तादेखि केन्द्रीय सभापतिसम्मलाई समान रूपले लागू हुने पौडेलले स्पष्ट पारे।

पार्टीलाई प्रविधिमैत्री बनाउन अबदेखि सबै सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गरिने भएको छ। सदस्यता नवीकरणको प्रक्रिया पूरा गरेपछि मात्र यो डिजिटल आईडी प्राप्त हुनेछ र आईडी नहुने व्यक्तिले महाधिवेशनको कुनै पनि प्रक्रियामा भाग लिन पाउने छैनन्। नयाँ क्रियाशील सदस्यहरूका लागि पनि पूर्ण रूपमा डिजिटल माध्यमबाटै सदस्यता दिने व्यवस्था मिलाइएको छ।

जिल्ला पुगेका प्रतिनिधिहरूले संगठनको यथार्थ अवस्था र केन्द्रले सम्बोधन गर्नुपर्ने विषयहरू समेटेर प्रतिवेदन बुझाउनेछन्। यसबाहेक कांग्रेसले विगतको निर्वाचनमा भोगेको परिणाम र आगामी बाटोबारे नागरिकस्तरमै पुगेर अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

केन्द्रीय स्तरमा सभापतिको नेतृत्वमा बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल हुनेछ भने जिल्ला खटिएका प्रतिनिधिहरूले स्थानीय युवा र समाजका विभिन्न तप्कासँग निर्वाचनको समीक्षा गर्नेछन्। पार्टी संगठनलाई थप चलायमान बनाउन कांग्रेसले अब सामाजिक गतिविधिमा समेत जोड दिने नीति लिएको छ।

स्थानीय तहका समस्या पहिचान गरी पार्टी पंक्तिलाई सामाजिक काममा सक्रिय गराउन प्रतिनिधिहरूलाई विशेष जिम्मेवारी दिइएको छ। राजनीतिक एजेन्डासँगै सामाजिक उत्तरदायित्वका कामलाई जोडेर संगठनमा नयाँ ऊर्जा थप्ने कांग्रेसको योजना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *