कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको पदचाप
समय नाशवान् छ र जीवन पनि क्षणभंगुर। आफ्नै हेलचेक्र्याइँ र परिस्थितिको भुमरीमा कहिलेकाहीँ अल्पायुमै जीवनयात्रा टुंगिन सक्छ। यही त जीवनको रहस्यमय पाटो हो।
मलाई धेरै समयदेखि एउटा प्रश्नले घोचिरहन्छ- कम्युनिस्टहरूका सिद्धान्त यति आकर्षक र न्यायको पक्षमा देखिँदादेखिँदै पनि आज विश्वभर उनीहरू किन धेरै ठाउँमा रक्षात्मक अवस्थामा छन्? यो प्रश्न बुझ्न इतिहासतिर एक पटक फर्कनु जरुरी ठानेँ।
कोही पनि शासक सुरुमा आफैँमा खराब हुँदैनन्। मानव सभ्यताको विकासक्रम नै असुरक्षित, भद्रगोल र अव्यवस्थित जीवनलाई व्यवस्थित, न्यायिक र सुरक्षित बनाउने खोजीबाट सुरु भएको हो। यही चेतनाको प्रारम्भिक रूपमा समुदायका अगुवा, गणपति वा समूहका नेताहरू जन्मिए। समयसँगै त्यसैको विकसित रूप देवतुल्य ठानिएका राजामहाराजाको अवतारमा परिणत भयो।
तर इतिहासले देखायो- सत्ता जति लामो समय टिक्छ, त्यति नै त्यसमा विकृति पस्ने सम्भावना बढ्छ। कतिपय शासक तानाशाह बने, धर्मकै नाममा अपमान र अमानवीय व्यवहार बढ्यो, मानिसलाई पशुसमान व्यवहार गरियो। त्यसैबाट पीडित र शोषित वर्गको आवाज उठ्न थाल्यो।
यही ऐतिहासिक पृष्ठभूमिमा कार्ल मार्क्सको उदय भयो- शोषितहरूको पक्षमा बोल्ने वैचारिक आवाजका रूपमा। उनले वर्गसंघर्ष, श्रमको सम्मान र समानताको प्रश्न उठाए। उनका विचारले विश्व राजनीति र बौद्धिक जगत्मा गहिरो प्रभाव पारे। आज पनि सामाजिक न्यायको बहसमा मार्क्सका विचार पूर्ण रूपमा असान्दर्भिक भएका छैनन्।
तर एउटा यथार्थ पनि छ- मार्क्सको विचार जति बलियो देखिन्छ, उनका अनुयायीहरू समयसँगै त्यति नै कमजोर हुँदै गएका छन्। सिद्धान्तभन्दा व्यवहार कमजोर हुँदा पुँजीवादी व्यवस्था अझ बलियो हुँदै गएको देखिन्छ। वामपन्थीहरू पनि अनुशासन, आत्मसमीक्षा र जनमुखी नेतृत्वमा रहुञ्जेल बलिया देखिन्छन्। तर आन्तरिक कमजोरी, गुटबन्दी र बाह्य प्रभावले बाटो फरक पारिदिएको पाइन्छ।
इतिहासको अर्को पाटो पनि बुझ्न जरुरी छ। धेरैले मार्क्सवाद र अमेरिकी लोकतन्त्रलाई एउटै समयको उत्पादन जस्तो गरेर बहस गर्ने गर्छन्। तर वास्तविकता फरक छ। लोकतन्त्रको अवधारणा झण्डै २५०० वर्षअघि प्राचीन ग्रीसको एथेन्सबाट सुरु भएको मानिन्छ।
जनताको सहभागितामा शासन चलाउने विचार त्यतिबेलै जन्मिएको थियो। पछि अमेरिकी स्वतन्त्रता आन्दोलन (१७७६) र फ्रान्सेली क्रान्ति (१७८९) ले आधुनिक लोकतन्त्रलाई संस्थागत स्वरूप दियो। तर लोकतन्त्रसँगै तानाशाहहरूको उदय पनि विश्व इतिहासको निरन्तर पाटो रहिरह्यो।
अमेरिकाको डेमोक्रेटिक पार्टी भने सन् १८२८ मा एन्ड्रयु ज्याक्सनको राजनीतिक आन्दोलनबाट स्थापित भयो। यो आधुनिक प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यासभित्र विकसित भएको शक्ति हो। अमेरिकी लोकतन्त्रलाई कतिपयले अब्राहम लिंकन जस्ता एउटै पात्रको उपलब्धि जस्तो बुझ्ने गर्छन्।
तर इतिहासले देखाउँछ, लोकतन्त्र कुनै एक व्यक्तिको काम मात्र होइन, अनेक विचार र संघर्षको परिणाम हो। थोमस जेफरसनले १७७६ को स्वतन्त्रता घोषणामार्फत आधुनिक अमेरिकी लोकतन्त्रको आधार तयार पारे। व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको अवधारणालाई संस्थागत रूप दिने काम उनले गरे। त्यसैले उनलाई प्रायः अमेरिकी लोकतन्त्रका पिता भनेर सम्मान गरिन्छ।
त्यसपछि अब्राहम लिंकनले त्यो लोकतन्त्रलाई जोगाउने भूमिका निर्वाह गरे। गृहयुद्धको कठिन घडीमा राष्ट्रलाई एकतामा राख्नु, दासप्रथाको अन्त्य गर्नु र समानताको मूल्य स्थापित गर्नु उनको ऐतिहासिक योगदान हो। लिंकन लोकतन्त्रका पिता होइनन्, तर लोकतन्त्रका महान् संरक्षक अवश्य हुन्।
यता कार्ल मार्क्सले पश्चिमी लोकतन्त्रको आलोचना गर्दै पुँजीवादी व्यवस्थामाथि सैद्धान्तिक चुनौती खडा गरे। उनले समानता र सामाजिक न्यायको खोजीलाई नयाँ दिशा दिएका थिए। यसरी हेर्दा लोकतन्त्रको इतिहासमा जेफरसन, लिंकन र मार्क्स तीन फरक भूमिकामा देखिन्छन्- एकले आधार निर्माण गरे, अर्कोले त्यसलाई जोगाए र तेस्रोले त्यसको सीमामाथि प्रश्न गरे।
अब कुरा नेपालको अवस्थातिर फर्काउँ। मेरो पुस्ताले करिब ३५ वर्षदेखि नजिकबाट नेपाली राजनीति हेर्दा बारम्बार उठ्ने प्रश्न यही हो- यति बलियो सिद्धान्त बोकेको कम्युनिस्ट आन्दोलन किन क्रमशः कमजोर देखिन थाल्यो? सिद्धान्तका हिसाबले समानता, श्रमको सम्मान र वर्गीय अन्यायको अन्त्य जस्ता आदर्श अत्यन्त आकर्षक छन्। तर व्यवहारमा पुगेपछि ती आदर्श किन बारम्बार कमजोर देखिन्छन्? नेपालको अनुभवले एउटा कठोर यथार्थ देखायो- सिद्धान्त राम्रो भए पनि त्यसलाई बोक्ने मान्छे सुध्रिएन भने परिवर्तन सम्भव हुँदैन।
२०६२/६३ को जनआन्दोलनपछि नेपाली कम्युनिस्ट आन्दोलन उकालो लागिरहेको जस्तो देखिन्थ्यो। शान्ति प्रक्रिया, संविधानसभा र त्यसपछि २०७४ को निर्वाचनसम्म आइपुग्दा वाम शक्तिहरू इतिहासकै सबैभन्दा बलियो अवस्थामा पुगेका थिए। २००६ सालदेखि पटक-पटक योगदान दिए पनि लामो समय टिकेर देश र जनताको पक्षमा उल्लेख्य भूमिका खेल्न सकेनन्।
हो, कतिपयले यसलाई बाह्य शक्तिको प्रभाव वा भूराजनीतिको असर पनि भन्छन्। कतिपयले प्रचण्ड, माधव नेपाल र केपी ओलीबीचको व्यक्तिगत टकराबलाई कारण देखाउँछन्। सतहमा यी पक्ष देखिए पनि पछिल्ला दुई दशकको घटनाक्रम हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ- कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो चोट बाहिरबाट भन्दा भित्रकै नेतृत्व संघर्षबाट लागेको हो। यो कुरा अब प्रचण्ड, माधव, ओली र देउवालाई सँगै राखेर सोध्ने हो भने थाहा हुन्छ कि!
सिद्धान्तभन्दा व्यक्तित्व ठूलो बन्न खोज्दा आन्दोलन कमजोर बन्न पुग्यो, यही वास्तविकता हो। एमालेमा युवाहरूको माग सुहाङ नेम्वाङ हुँदाहुँदै पनि नेतृत्वले बादललाई संसदीय दलको नेता बनाएपछि हिजो संसद्मा प्रतिपक्षका हैसियतमा उनले धारणा राख्दा कताकता पुरानो माओवादी स्वर सुनिएजस्तो अनुभूति भयो। तर बारम्बार देशी-विदेशी शक्तिलाई मात्र दोष देखाएर आफूलाई सधैँ सही देखाउने प्रवृत्ति स्वस्थ राजनीतिक अभ्यास मान्न सकिँदैन।
आज ठुलो संगठनात्मक शक्ति बोकेको एमाले आफैँ कताकता ठूलो भिरबाट खसेको घाइते जस्तो देखिन्छ। यस्तो अवस्थामा पार्टी अध्यक्षको पक्षमा न्यायको लडाइँ लड्ने कुरा अवश्य उठ्छ र लड्नुपर्छ पनि। तर त्यत्तिकै महत्त्वपूर्ण कुरा अर्को पनि छ- आत्मालोचना।
राजनीतिमा एउटा मान्यता छ- दोस्रो आक्रमणलाई भन्दा पहिलो प्रहारलाई नै प्रमुख गल्ती मानिन्छ। विरोधीहरूले अवसर कुरेर आक्रमण गरेको हुन सक्छ, तर आफू कहाँ चुकियो भन्ने कुरा प्रधान हो। आत्मालोचनासहित लोयल भएर क्षमा याचना गर्दै आउनुपर्थ्यो भन्नेहरू धेरै छन्।
जनतासँग क्षमा याचना गर्नु कमजोरी होइन, परिपक्वता हो। निउरिएर गल्ती स्वीकार गर्दा ढाड भाँचिँदैन, बरु त्यसले विश्वास पुनःस्थापित गर्न मद्दत गर्छ। बेलैमा यति गरेको भए आजको परिणाम अर्कै हुन सक्थ्यो कि! यो हामी आफैँले ल्याएको व्यवस्था हो, दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने काम पनि यही व्यवस्थाले गर्नुपर्छ।
अब प्रश्न आफैँतिर सोध्न जरुरी छ- यति ठूलो संगठन किन कमजोर देखिन पुग्यो? कहाँ चुक्यो? किन यस्तो अवस्था आयो? यस्ता प्रश्नलाई टारेर होइन, खुला बहस, गम्भीर आत्मसमीक्षा र सुधारको प्रक्रियाबाट मात्र उत्तर खोज्न सकिन्छ।
अर्को रोचक कुरा के छ भने, पूर्वमाओवादी नेता वर्षमान पुनको शैली अपेक्षाकृत सन्तुलित देखियो। यसले अर्को प्रश्न पनि जन्माउँछ- के नेपाली कम्युनिस्ट आन्दोलनभित्र विचारको पुनःसमायोजन भइरहेको हो र? यसै आधारमा वामपन्थी धाराभित्र नयाँ भरोसा र सम्भावना जन्मिन सक्छ। वृहत्तर वाम एकता पनि त्यही बाटो हुँदै सम्भव हुन्छ- आत्मालोचना, सुधार र विश्वासको पुनर्निर्माणबाट।
यसैबीच, राजनीतिमा नयाँ शक्ति पनि उदाइसकेका छन्। अहिले विडम्बना के छ भने कम्युनिस्टहरूले उठाउनुपर्ने सामाजिक मुद्दा अरूले उठाइरहेका छन्। रास्वपाका नेता रवि लामिछानेले संसद्मा दलित समुदायप्रति राज्यको तर्फबाट हात जोडेर माफी माग्ने साहस देखाए।
यो प्रतीकात्मक कदम भए पनि राजनीतिक सन्देशका हिसाबले महत्त्वपूर्ण छ। सहकारी प्रकरणको अनुसन्धान आफ्नो ठाउँमा होला, तर उनको प्रस्तुतिले ध्यान तानेको सत्य हो। यसले अब कम्युनिस्टको औचित्यमाथि प्रश्न उठाउन सक्छ। बेलैमा नसच्चिने हो भने जनताले विकल्प खोज्न सक्छन्।
अहिले देशमा नयाँ ऊर्जा र अपेक्षासहित सरकार बनेको छ। यस्तो समयमा संयम, दूरदर्शिता र जिम्मेवारी आवश्यक हुन्छ। राजनीतिक प्रतिस्पर्धा रहिरहला, तर राष्ट्रिय एकता अझ ठूलो प्रश्न हो। अन्ततः इतिहासले सिकाउने कुरा के हो भने सत्ता, पद, आलोचना वा सम्मान सबै अस्थायी हुन्छन्। तर कर्म र योगदान भने इतिहासमा अमर रहन्छ।
आजको पुस्ताका पात्रहरू रवि लामिछाने वा बालेन शाहले यदि विचलित नभई न्यायिक लोकतन्त्रको रक्षा गर्दै देशलाई विकासको दिशामा लैजान सके भने त्यो नयाँ राजनीतिक अध्याय बन्न सक्छ। त्यसले पुराना नेताहरूको योगदानको पनि सम्मान नै गर्नेछ। किनकि राष्ट्र निर्माण कुनै एक दल वा नेताको एकल कथा होइन।
अब सबैले शान्तिपूर्ण प्रतिस्पर्धा गर्दै जनमतलाई काम गर्न दिएर अघि बढ्न सके मात्र नेपालको भविष्य बलियो बन्न सक्छ। नेपाली एकता, सहिष्णुता र लोकतान्त्रिक अभ्यासले नै सुन्दर नेपालको सपना साकार पार्नेछ।
