ज्ञानेन्द्र विवशको लेखन सक्रियता

चैत महिना हो यो, वि.सं. २०८२ साल ।

चैतलाई उराठलाग्दो महिना भनिन्छ, किनभने घामको प्रियता घट्दै गएको हुन्छ र रुखमा पालुवा पलाइसकेका हुँदैनन् । रमाइलो कुरा के भने, यही चैत महिनामै नेपाली निबन्धका शिल्पी शङ्कर लामिछानेको जन्म भएको थियो ।

साहित्यका विभिन्न विधाहरूमध्ये निबन्धलाई केही रूखो र उराठलाग्दो विधा मानिन्छ । यसका लेखक र पाठक दुवै कमै हुन्छन् । तर, शङ्कर लामिछानेले नेपाली निबन्धलाई त्यो उराठलाग्दोपनबाट मुक्त गरिदिए । पाठकलाई निबन्ध पठनप्रति आकर्षण जगाइदिए । उनका निबन्ध पढ्दा कथा वा आख्यानको स्वाद पाइन्छ । निबन्ध विधालाई नयाँ रूप दिएर सुस्वादु बनाउने श्रेय लामिछानेलाई जान्छ । उनी नेपाली साहित्यका कीर्तिमानी ‘गद्य शिल्पी’ हुन् ।

सम्भवतः चालीसको दशकपछिका मेरा मित्र ज्ञानेन्द्र विवश पनि नेपाली गद्य साहित्यका निरन्तर सर्जक हुन् । उनी निबन्ध, नियात्रा, साहित्यकारसँगको जीवनीमूलक भेटवार्ता र कलासमीक्षा लेख्छन् । कलाकारको जीवनीमूलक चिनारीलाई पनि उनले निबन्धकै ढाँचामा ढाल्ने गरेका छन् ।

खासमा नेपाली साहित्यमा कलासमीक्षा र कलाकारको जीवनीमूलक निबन्ध लेख्ने लेखक अति न्यून छन् । शङ्कर लामिछानेले कलाकार उर्मिला उपाध्याय गर्गको विषयमा निबन्ध लेखे पनि सिङ्गै पुस्तक भने लेखेका थिएनन् । कलासमीक्षा र कलाकारका विषयमा लेख्नेहरूमा म अग्रपङ्क्तिमा नारायणबहादुर सिंहलाई पाउँछु, जसका कृति नेपाली वाङ्मयमा उच्च तहमा छन् । कलाकार मुकेश मल्ल र रमेश खनालले पनि यस क्षेत्रमा कलम चलाएका छन् ।

तर, समकालीन लेखकहरूमध्ये ज्ञानेन्द्र विवश पछिल्लो पुस्ताका त्यस्ता लेखक हुन् जो निबन्ध, कलासमीक्षा, कलाकारको जीवनी र कला पत्रिकाको सम्पादनमा निरन्तर सिर्जनारत छन् । उनका धेरै दौँतरी लेखकहरू सुस्ताइरहँदा ज्ञानेन्द्रजी ‘अथकित’ रूपमा सिर्जनशील देखिन्छन् । एकाध वर्षयता उनको सक्रियता यति बढेको छ कि हरेक हप्ताजसो उनका रचनाहरू पत्रपत्रिका र अनलाइनमा प्रकाशित भइरहेका छन् । यो उनको निरन्तर चिन्तनशीलता, अध्ययनशीलता र रचनाधर्मिताको सुन्दर दृष्टान्त हो ।

उनका निबन्धमा प्रकृतिको सुन्दरताको मीठो वर्णन, जीवनप्रतिको गहिरो धारणा र समाजका यथार्थ परिदृश्यहरूको चित्रण पाइन्छ । उनी आफ्ना अनुभव र दृष्टिकोणलाई निकै सशक्त र जीवन्त ढङ्गले व्यक्त गर्न सक्षम छन् । भ्रमणका क्रममा पारेका प्रभावलाई कलात्मक रूपमा उतार्ने उनको शैली लोभलाग्दो छ । उनको प्रकाशोन्मुख नियात्रा ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ (एभरेष्ट बेस क्याम्प यात्राको अनुभूति) अझ रोचक हुने अनुमान गर्न सकिन्छ, जसका लागि म उनलाई अग्रिम बधाई दिन चाहन्छु ।

नेपाली साहित्यमा सङ्ख्यात्मक रूपमा धेरै लेख्नेहरूको गुणस्तर हुँदैन भन्ने एउटा रटिरटाउ मानसिकता छ । तर, थोरै लेख्नु नै उच्च गुणस्तर हुनु र धेरै लेख्नु कमसल हुनु भन्ने मान्यता आफैँमा त्रुटिपूर्ण सोच हो । कुनै पनि रचनाको विश्लेषण र त्यसको अन्तर्वस्तुमा प्रवेश गरेर मात्र निष्कर्ष निकाल्न सकिन्छ । गहन अध्ययन नगरी केवल ‘सङ्ख्यात्मक’ भनेर ठप्पा लगाइदिनु न्यायोचित र बौद्धिक मान्न सकिन्न ।

ज्ञानेन्द्रजी साहित्यकारहरूसँग संवाद र भेटघाट गर्न रुचाउने व्यक्तित्व हुन् । नेपाली साहित्यकी शिखर प्रतिभा पारिजातसँग अन्तिम पटक अन्तर्वार्ता लिने व्यक्ति सम्भवतः उनी नै हुन् । उनले वि.सं. २०४९ चैत २१ गते पारिजात निवास म्हैपी पुगेर अन्तर्वार्ता लिएका थिए ।

त्यतिबेला खस्कँदो स्वास्थ्यका कारण पारिजातको मनस्थिति सहज थिएन । उनले कतिपय प्रश्नमा झिँझो मानेकी थिइन् । तर, ज्ञानेन्द्रजीले अत्यन्तै विनम्रतापूर्वक प्रश्न गरिरहे । त्यो अन्तर्वार्ता पढ्दा पारिजातप्रति उनको अगाध आदरभाव महसुस हुन्छ । उनले भेटका राम्रा-नराम्रा सबै प्रसङ्गलाई पारिजातकै शैलीमा सुन्दर किसिमले अभिव्यक्त गरेका छन् ।

त्यस बेला पारिजातले भनेकी थिइन्, “मेरो मृत्यु नहुन्जेल धैर्य गर्नुस्, बरु मरिसकेपछि लेख्नुस् श्रद्धाका शब्द वा घृणाका कुरा ।” उनले आफूलाई ‘डुब्न लागेको घाम’ का रूपमा चित्रण गरेकी थिइन् । यस्तो कठिन अवस्थामा पनि धैर्यपूर्वक अन्तर्वार्ता लिनु ज्ञानेन्द्रजीको विशेषता हो । रोचक कुरा त के भने, त्यो अन्तर्वार्ता लिएको १५ दिनमै पारिजातको निधन भयो ।

विवशजी व्यक्तिचित्र शब्दमा उतार्न पनि निकै पोख्त छन् । कुनै व्यक्तिको चालचलन र चरित्रलाई सिलसिलाबद्ध र मिठासपूर्ण ढङ्गले चित्रण गर्नु चुनौतीपूर्ण काम हो, जसमा उनी सफल देखिएका छन् । उनले कलाकार उत्तम नेपालीलाई चिनाउने क्रममा लेखेका छन्, “लेख्दा कला र बोल्दा कविता । रिसरागभन्दा भिन्न सधैँ हाँसोखुसी नै उनको जिन्दगी ।”

उत्तम नेपालीलाई ‘सुकिलो पृष्ठभूमिका कलाकार’ भनिरहँदा ज्ञानेन्द्रजी आफैँ पनि सुकिलो लेखन पृष्ठभूमिका लेखकका रूपमा स्थापित भइरहेका छन् । पछिल्लो समय नेपाली साहित्यमा अधिकांश लेखकहरू अध्ययनमा निष्ठावान र लेखनमा निरन्तर नभएको देखिन्छ । तर, ज्ञानेन्द्र विवश यी दुवै पक्षमा अपवाद बनेका छन् । उनको यो ऊर्जा, प्रतिबद्धता र नथाक्ने स्वभावले उनलाई एक बलियो लेखक बनाएको छ ।

-लस भेगास, अमेरिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *