झापामा वैशाख ५ देखि महिला फुटबल गोल्डकप

झापा । झापाको भद्रपुरमा आगामी वैशाख ५ गतेदेखि नेपालकै सर्वाधिक पुरस्कार राशि भएको महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

भद्रपुरस्थित चन्द्रगढी युवा क्लबले महिला खेलाडीहरूको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘प्रथम चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भद्रपुरको मेची रंगशालामा वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहने क्लबले जनाएको छ ।

आयोजक चन्द्रगढी युवा क्लबसहित नेपालका तीन विभागीय टोलीहरू (त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लब), चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लबको सहभागिता निश्चित भइसकेको छ ।

अन्तर्राष्ट्रियस्तरबाट भारत र भुटानका एक-एक टोली तथा अन्य एसियाली मुलुकका दुईवटा क्लबले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँका साथै आकर्षक ट्रफी प्राप्त गर्ने छन् । विधागततर्फ मस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई समेत नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

झापालाई महिला फुटबलको ‘हब’ का रूपमा विकास गर्ने र ग्रास रुटबाटै नयाँ खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यका साथ यो ठूलो लगानीको प्रतियोगिता सुरु गरिएको हो ।

खेलका लागि मेची रंगशालाको निर्माण तथा स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ । चैत अन्तिमसम्म मैदान र अस्थायी प्यारापिटको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

करिब १ करोड रुपैयाँ अनुमानित खर्च लाग्ने यस प्रतियोगिताले नेपाली महिला फुटबलमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *