एमाले सचिवालय बैठक : बादलको विवादास्पद अभिव्यक्तिबारे छलफल हुने
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि तय भएको बैठकमा विशेषगरी पार्टी उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले हालै प्रतिनिधि सभामा दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा नेता बादलले राखेको विचार पार्टीको स्थापित नीति र आधिकारिक मान्यताविपरीत भएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको छ।
दलका तर्फबाट बोलेका विषयहरू पार्टीको लाइनसँग मेल नखाएको भन्दै सचिवालयले यसबारे गम्भीर समीक्षा गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।
बैठकमा बादलको अभिव्यक्तिका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयहरूमा समेत छलफल हुने एमालेले जनाएको छ।
पार्टीको नीतिविपरीतका गतिविधि र नेतृत्व तहबाटै आएका विवादास्पद धारणाले पार्ने प्रभावबारे बैठकमा सदस्यहरूले धारणा राख्नेछन्।
* * *
