निर्वाचनमा नमिठो हारपछि मधेशी दलबीच एकताको कसरत
काठमाडौँ । हालै सम्पन्न निर्वाचनमा सोचेभन्दा कमजोर नतिजा हात पारेपछि तराई मधेश केन्द्रित दलहरू आफ्नो राजनीतिक अस्तित्व जोगाउन पार्टी एकताको अन्तिम कसरतमा लागेका छन्।
छुट्टाछुट्टै चुनाव लड्दा जनमत विभाजित भई लज्जास्पद हार बेहोर्नुपरेको निष्कर्ष निकाल्दै उनीहरूले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ लाई विघटन गरेर एउटै एकीकृत पार्टी बनाउने गृहकार्य सुरु गरेका हुन्।
बबरमहलस्थित कार्यालयमा बसेको बैठकमा मधेशी दलका नेताहरूले बदलिँदो परिस्थितिमा स-साना मोर्चा वा दलका माध्यमबाट राजनीति सम्भव नदेखिएको स्वीकार गरे। निर्वाचनमा मतदाताले पुराना अनुहार र विभाजित शक्तिलाई तिरस्कार गरेपछि अब एकताको विकल्प नरहेको महसुस गर्दै उनीहरूले मोर्चाभित्र र बाहिर रहेका सबै शक्तिलाई समेट्ने प्रयास थालेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामकुमार शर्माले निर्वाचनको नतिजापछि पार्टी एकताका लागि गम्भीर छलफल सुरु भएको जानकारी दिए।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा उपेन्द्र यादव, डा. सीके राउत, राजेन्द्र महतो र रेशम चौधरी नेतृत्वका दलहरूलाई समेटेर बृहत् राष्ट्रिय पार्टी बनाउने विषयमा छलफल भयो।
निर्वाचनमा भएको हारले यी दलहरूलाई ठूलो धक्का दिएको छ, जसका कारण उनीहरू अब पुरानै तरिका र नेतृत्वले अगाडि बढ्न नसकिने निष्कर्षमा पुगेका हुन्। नेता शर्माले अब पार्टीका पुराना अध्यक्षहरूलाई सम्मानित स्थान दिएर कार्यकारी नेतृत्व युवा पुस्तालाई सुम्पिनुपर्ने सुझाव समेत दिएका छन्।
निर्वाचनमा मधेशी मतदाताले नयाँ शक्ति र युवा अनुहारलाई प्राथमिकता दिएपछि पुराना मधेशी दलहरू दबाबमा परेका हुन्। त्यसैले हिमाल, पहाड र मधेशलाई जोड्ने गरी विचार र कार्यशैलीमा आमूल परिवर्तन गरी एकीकृत शक्ति निर्माण गर्ने उनीहरूको योजना छ।
संरक्षक महन्थ ठाकुरले चाँडै सबै दलका अध्यक्षहरूलाई बोलाएर एकता प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेका छन्। हराएको साख फर्काउन र राजनीतिक सान्दर्भिकता कायम राख्न मधेशी दलहरूका लागि यो एकता ‘गर या मर’ को स्थिति जस्तै बनेको छ।
