काठमाडौँ महानगरले वैशाख १ देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। राति अबेरसम्म काम गर्ने र यात्रा गर्ने यात्रुहरूको सहजताका लागि महानगरले यस्तो योजना अघि सारेको हो।

महानगरले प्रारम्भिक चरणमा दुईवटा मुख्य रुट तय गरेको छ। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। उत्तर-दक्षिण दिशाको यो रुट एकतर्फी १६ किलोमिटरको हुनेछ।

त्यसैगरी, दोस्रो रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहनेछ। पूर्व-पश्चिम दिशाको यो रुट २० किलोमिटरको हुनेछ। यी दुवै रुटमा हाललाई ४ वटा रात्रिकालीन विद्युतीय बसहरू सञ्चालन गरिनेछन्।

बेलुका ८ बजेपछि सार्वजनिक यातायात नपाउँदा सर्वसाधारणले महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।

“सार्वजनिक यातायातको विकल्प नहुँदा विशेष गरी किशोरी, महिला र विद्यार्थीहरूले सुरक्षा र आर्थिक रूपमा ठुलो मर्का खेप्नुपरेको छ,” कार्यवाहक प्रमुख डंगोलले भनिन्, “यो अवस्थामा सुधार ल्याउन हामीले सेवा सुरु गर्न लागेका हौँ।”

यो सेवा सुरु भएपछि साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन्। तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरालमा बस आइपुग्ने व्यवस्था मिलाइएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा सीसीटीभी क्यामरा जडान गरिने र सुरक्षाका लागि नगर प्रहरी समेत परिचालन गरिने महानगरले जनाएको छ। सेवालाई अत्याधुनिक, सुरक्षित र भरपर्दो बनाउन महानगरपालिका अन्य साझेदारहरूसँग पनि सहकार्य गर्न तयार रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *