५० वर्षपछि चन्द्रमातर्फ मानव यात्रा
काठमाडौँ। अमेरिकी अन्तरिक्ष निकाय नासाले आफ्नो महत्वाकांक्षी आर्टिमिस-२ मिसनको सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको वरिपरि गरिन लागेको पहिलो मानवयुक्त अन्तरिक्ष यात्रा हो। हाल उक्त अन्तरिक्षयानले पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको छ।
अन्तरिक्षयान अबको २४ घण्टासम्म पृथ्वीकै कक्षमा रहनेछ। यस अवधिमा चालक दलका सदस्यहरूले यानका विभिन्न प्राविधिक पक्ष र प्रणालीहरूको सूक्ष्म जाँच गर्नेछन्। सबै परीक्षणहरू सफल भएमा र प्राविधिक अवस्था दुरुस्त देखिएमा मात्र यानलाई चन्द्रमातर्फ प्रस्थान गर्न अनुमति (ग्रिनलाइट) दिइने नासाले जनाएको छ।
प्रक्षेपणपछि आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चालक दलका सबै सदस्य सुरक्षित रहेको र उनीहरू निकै उत्साहित अवस्थामा रहेको जानकारी दिए। उडान सुरु भएको केही समयमै अन्तरिक्ष यात्री रिड वाइसम्यानले आफ्नो अनुभव सुनाउँदै भने, ‘यहाँको दृश्य अत्यन्तै मनमोहक छ, हामीले अद्भुत रूपमा चन्द्रमा उदाएको दृश्य देखिरहेका छौँ।’
अत्यन्तै भव्य र रोमाञ्चक ढंगले गरिएको यो प्रक्षेपणका क्रममा रकेटको शक्तिशाली कम्पन महसुस गरिएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। १० दिनको यो ऐतिहासिक मिसनमा रहेका अन्तरिक्ष यात्रीहरू चन्द्रमाको सतहमा भने उत्रिने छैनन्।
उनीहरू चन्द्रमाको वरिपरि परिक्रमा गरेर मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढाको दूरीसम्म यात्रा गर्ने योजनामा छन्। यस मिसनलाई भविष्यमा चन्द्रमामा मानव बस्ती बसाउने र मंगल ग्रहसम्मको यात्रा तय गर्ने दिशामा एउटा महत्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।
