आज नेतृत्व छान्दै निर्माण व्यवसायी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एपीएफसीएएन) को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। महासंघको जारी अधिवेशनमा आगामी कार्यकालका लागि मुख्यगरी दुईवटा प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी) लामा र निर्माण व्यवसायी निकोलस पाण्डेले आ-आफ्नो समूहसहित उम्मेदवारी दिएपछि चुनावी सरगर्मी बढेको छ।

अनुभवलाई मुख्य आधार बनाएको लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्।

लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। यस समूहका महासचिवका उम्मेदवार घिमिरे यसअघि महासंघमा उपमहासचिव पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन्।

यता युवा जोस र परिवर्तनको नारासहित मैदानमा उत्रिएको पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन्।

पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। पाण्डेलाई युवा व्यवसायीहरूको साथ रहने अपेक्षा गरिएको छ।

महासंघको महत्वपूर्ण पद मानिने महासचिवका लागि बलिभद्र राना र शिवहरि घिमिरेबिच प्रतिस्पर्धा हुनेछ। राना व्यावसायिक सोच भएका व्यक्तिका रूपमा चिनिन्छन् भने घिमिरे कार्य अनुभवका आधारमा बलियो देखिएका छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) चुनावी मैदानमा छन्। उपाध्यक्ष एसोसिएटतर्फ नरहरि थपरिया र एनपी शेर्पा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

दुई ठूला प्यानल सक्रिय रहँदा महासंघभित्र नीतिगत स्पष्टताका लागि भन्दै प्रमोद लामिछानेले स्वतन्त्र रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

निर्माण क्षेत्रमा २८ वर्षको अनुभव सँगालेका लामिछानेले सार्वजनिक खरिद ऐन र नीतिगत समस्या समाधानमा आफ्नो विज्ञता रहेको दाबी गरेका छन्। सोही पदमा मंगल शाही, अशोककुमार केसी र राजकुमार बास्ताकोटीले पनि प्रतिस्पर्धा गर्दैछन्।

महासंघको आन्तरिक उपमहासचिव पदमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र सुवित श्रेष्ठबिच त्रिपक्षीय भिडन्त हुने देखिएको छ। कोषाध्यक्ष पदका लागि बालाजु श्रेष्ठ र उज्ज्वल गौतम मैदानमा छन् भने सहकोषाध्यक्षमा उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह चुनावी प्रतिस्पर्धामा रहेका छन्।

महासंघको यो अधिवेशनले आगामी कार्यकालका लागि कस्तो नेतृत्व चयन गर्छ भन्ने विषयलाई निर्माण व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *