संसदीय दलको नेता चयनप्रति योगेशको असन्तुष्टि: ‘सांसदहरूलाई दबाबमा राखियो’

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भए पनि पार्टीभित्रको आन्तरिक विवाद भने सतहमा आएको छ। बुधबार पार्टी कार्यालय च्यासलमा भएको चयन प्रक्रियाप्रति उपमहासचिव योगेश भट्टराईले कडा असन्तुष्टि पोखेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी र निर्वाचनमा व्यहोरेको हारले पार्टी रक्षात्मक अवस्थामा रहेका बेला संसदीय दलको नेता छान्ने शैलीले सिंगो पार्टीपंक्तिलाई चिन्तित बनाएको भट्टराईको ठम्याइ छ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असहमति सार्वजनिक गर्दै सांसदहरूलाई दबाबमा राखेर निर्णय लादिएको संकेत गरेका छन्। “केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन,” उनले लेखेका छन्।

भट्टराईले पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको वर्तमान प्रतिकूल समयमा व्यापक पुनर्गठनमार्फत जनविश्वास जागृत गर्नुपर्नेमा जोड दिएका छन्। तर, आजको प्रक्रियाले बलियो एकता बनाउनुको साटो थप अन्योल सिर्जना गरेको उनको बुझाइ छ।

सुरुमा इलाम-२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए। तर, सुहाङको पक्षमा माहोल बन्न नदिई पार्टीभित्र उनको विपरीत परिस्थिति निर्माण गरिएको गुनासो बाहिरिएको छ।

अन्ततः सुहाङले उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्। २५ सिटमा खुम्चिएको एमालेभित्र नेतृत्व चयनको यो शैलीले आन्तरिक लोकतन्त्र र आगामी कार्यदिशाबारे नयाँ बहस छेडिदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *