एमाले संसदीय दलको नेता बने रामबहादुर थापा
काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको आन्तरिक प्रक्रियामार्फत उनी दलको नेता चयन भएका हुन्।
सुरुमा युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका थिए। तर, सहमतिको प्रयासस्वरूप नेम्वाङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए।
इलाम-२ बाट निर्वाचित नेम्वाङले युवा नेतृत्वको आवश्यकता औँल्याउँदै दाबी गरे पनि अन्ततः वरिष्ठतालाई सम्मान गर्दै पछि हटेका हुन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी जम्मा २५ सिट जितेको छ।
संसद्को पहिलो बैठक बस्नुअघि एमालेले आफ्नो संसदीय दलको नेता चयन गर्ने प्रक्रिया टुङ्ग्याएको हो। नवनिर्वाचित दलको नेता बादलले अब संसद्मा एमालेको नेतृत्व गर्नेछन्।
