क्यानाडामा नेपथ्य : नेपालीपनको उत्सव
काठमाडौँ । नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ। क्यानाडाका सडबरी, टोरन्टो र लन्डन (अन्टारियो) सहरमा आयोजना हुने कन्सर्टका लागि ब्यान्डको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० शुक्रबार सडबरी सहरस्थित ‘सडबरी कम्युनिटी एरेना’ मा हुनेछ। त्यसपछि १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको प्रसिद्ध ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना चर्चित गीतहरू सुनाउनेछ।
टोरन्टोमा आयोजना हुने कन्सर्टको टिकट दुई हप्ता अगावै सकिएको छ भने अन्य सहरहरूमा पनि टिकटको माग उच्च रहेको आयोजकले जनाएका छन्। यात्राको अन्तिम शो अप्रिल १८ शनिबार लन्डन सहरको ‘लन्डन म्युजिक हल’ मा हुनेछ।
नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको यो यात्रामा मुख्य गायक अमृत गुरुङसहित १४ जनाको टोली अप्रिल ४ मा क्यानाडा प्रस्थान गर्दै छ।
टोलीमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी रहनेछन्।
अमृत गुरुङले सामाजिक सञ्जालमार्फत क्यानाडामा रहेका नेपालीहरूले देखाएको उत्साहबाट आफू र आफ्नो टिम निकै उत्साहित रहेको बताए।
तीन वर्षअघि पनि क्यानाडाका विभिन्न सहरमा प्रस्तुति दिएको नेपथ्यका लागि यो राज्य विशेष महत्त्वको छ। यसपटक कन्सर्ट हुने तीनवटै सहर अन्टारियो राज्यमा पर्छन्, जहाँ नेपालीहरूको उल्लेख्य बसोबास छ।
नेपथ्यको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले क्यानाडा अब नेपथ्यका लागि नियमित साङ्गीतिक गन्तव्य बनेको उल्लेख गरे।
टोरन्टोका आयोजक दाजुभाइ इन्टरटेनमेन्टका छिरिङ शेर्पाले नयाँ वर्षको क्षणलाई उत्सवमय बनाउन नेपथ्यको आगमनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सदबरी र लण्डन (अन्टारियो) का लागि भने अझै पनि नेपथ्यको वेबसाइट nepathya.com.npबाट आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।
