एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी
काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्बाङले पार्टीको संसदीय दलको नेतामा आफ्नो दाबी औपचारिक रूपमा प्रस्तुत गरेका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा उनले अहिलेको बदलिँदो राजनीतिक परिस्थितिमा युवा नेतृत्वको अपरिहार्यता रहेको उल्लेख गर्दै आफ्नो दाबेदारी सार्वजनिक गरेका हुन्।
बैठकमा बोल्दै नेम्बाङले पार्टीको स्थापित विधि, पद्धति र वरिष्ठताको सम्मान गर्ने बताए। उनले लोकतान्त्रिक अभ्यासअनुसार स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै अहिलेको जनभावना र आवश्यकतालाई सम्बोधन गर्न आफू तयार रहेको धारणा राखे। उनले सदनभित्र र बाहिरको वर्तमान अवस्थालाई गम्भीरतापूर्वक मूल्यांकन गर्नुपर्ने समय आएको समेत उल्लेख गरे।
अग्रजहरूको अनुभवलाई मार्गदर्शक मान्दै युवाको ऊर्जा र नयाँ सोचलाई पार्टीको मूल प्रवाहमा ल्याउनुपर्ने पक्षमा आफू रहेको उनले स्पष्ट पारे।
यसअघि पनि उनले पार्टीले जिम्मेवारी दिए पछि नहट्ने भन्दै नेतृत्वका लागि तयार रहेको संकेत दिँदै आएका थिए। उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको आवश्यकताअनुसार आफू जुनसुकै चुनौती मोल्न तयार रहेको बताए।
