स्वास्थ्य बीमामा ढिलासुस्ती गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
काठमाडौँ। विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ ।
बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिएको तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गरेको पाइएको छ ।
यस्तो प्रवृत्ति रोक्न र बीमितप्रति जिम्मेवार बन्न बोर्डले सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति गरिने विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा देखिएको कमीप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत कुनै पनि गतिविधि नगर्न बोर्डले सचेत गराउँदै अब अनुगमन प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको छ ।
अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम उल्लङ्घन गरेको पुष्टि भएमा कानुनअनुसार कडा कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ ।
