सत्य र अहिंसाका अगुवा महावीरलाई सम्झने दिन

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीर जैनको २६२५औँ जन्मजयन्ती आज मंगलबार नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यजस्ता जीवन दर्शनलाई मानव समाजमा स्थापित गर्न योगदान दिएका महावीरप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक तथा सामाजिक संस्थाहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्।

इसापूर्व ५९९ मा भारतको वैशाली नजिकै रहेको कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाका पुत्रका रूपमा जन्मिएका महावीर राजसी जीवन त्यागेर आध्यात्मिक यात्रामा लागेका थिए।

शान्ति र सत्यको खोजीमा उनी करिब १२ वर्षसम्म कठोर तपस्यामा लीन भएका थिए। तपस्यापछि उनले मानव समुदायलाई जैन दर्शनको मार्ग देखाए। जैन मान्यताअनुसार २४ तीर्थङ्करमध्ये महावीर अन्तिम तीर्थङ्कर हुन् जसले धर्मको सही बाटो देखाउने कार्य गरे।

उनका उपदेशहरूमा अहिंसालाई केन्द्रमा राखिएको छ। अरूलाई दुःख दिनु पनि हिंसा मानिने भएकाले उपकार गर्नु नै साँचो अहिंसा हुने उनको विचार रहेको पाइन्छ।

महावीरका शिक्षाहरू अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन्। लोभ, हिंसा र असमानताले ग्रस्त आधुनिक समाजमा उनका सन्देशहरूले नैतिकता र सहअस्तित्वको मार्ग देखाउने विश्वास गरिन्छ।

जन्मजयन्तीको अवसरमा नेपाल जैन परिषद्सहित विभिन्न संघ संस्थाले प्रवचन, र्‍याली तथा धार्मिक कार्यक्रममार्फत महावीरका शिक्षाहरूको प्रचारप्रसार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *