एमालेको वर्तमान अवस्था र नेतृत्वमाथिको प्रश्न

विशाल कम्युनिस्ट पार्टीहरूमा नेतृत्वमाथि प्रहार हुँदा तबसम्म प्रतिकार हुन्छ, जबसम्म नेतृत्वमाथि आन्तरिक प्रश्न उठ्दैन। प्रश्न उठेको खण्डमा पार्टीलाई हानि नहोस् भनेर नेतृत्वलाई फिर्ता बोलाउने र दोस्रो तह तयार गर्ने एमालेको पुरानो लोकतान्त्रिक अभ्यास थियो।

तर पछिल्लो समय पार्टीमा ‘कमरेड’ को साटो ‘बा’ र ‘छोराछोरी’ संस्कारको वर्चस्व देखिनुले संगठन पतनको बाटोमा लागेको संकेत गर्छ। असहमति राख्ने कार्यकर्तालाई कारबाहीको डर देखाएर मुख थुन्नु नेतृत्वको ठूलो भूल हो।

केही वर्षअघि पार्टी फुट्दा पनि केपी ओलीलाई कार्यकर्ता र शुभेच्छुकको ठूलो साथ थियो। तर बिस्तारै मन परेकालाई च्याप्ने र मन नपरेकालाई फ्याक्ने पक्षपाती व्यवहार चुलिँदै गयो। नेतृत्वले जायज सुझावलाई अर्गेलो ठान्न थाल्यो र केवल घेराबन्दीमा रमाउने प्रवृत्ति बढ्यो।

विवादित व्यापारीबाट भारी मात्रामा चन्दा लिने र सुशासनका लागि आवाज उठाउनेलाई कारबाही गर्ने शृङ्खलाले पार्टीको छवि धुमिल बनाएको छ। कार्यकर्ताले आफ्नै पसिनाबाट भवन बनाएर अपनत्व खोजेका थिए, तर आज पार्टी चन्दाको भारले थिचिएको देखिन्छ।

एमालेमाथि बाह्य आक्रमण हुनु सत्य भए पनि जनमनोविज्ञान नबुझी एकल नेताको अन्धभक्त हुनु बुद्धिमानी होइन। अहिलेको जनादेश र जनताको चाहना अनुसार सिर्जनात्मक दबाब आवश्यक छ। शक्तिको आडमा कसैलाई भेदभाव नगरियोस् र कानुनले निष्पक्ष काम गरोस् भन्नेमा सबैको ध्यान जानुपर्छ।

सडकमा कार्यकर्ता उतारेर मात्रै जनताको स्याबासी पाइँदैन। स्थानीय र प्रदेश तहमा रहेका जनप्रतिनिधिमार्फत जनताको काममा केन्द्रित हुनु अहिलेको आवश्यकता हो।

नयाँ सरकारलाई काम गर्ने अवसर दिनु उचित हुन्छ। यदि सरकारले जनमुखी काम गरेन वा राष्ट्रियतामा आँच पुर्‍याएमा खबरदारी गर्न सकिन्छ। तर सरकारले सुशासन, विकास र रोजगारीका क्षेत्रमा राम्रो काम गरेमा त्यसलाई साथ दिनु नै नागरिक धर्म हो।

एमालेले गरेका धेरै राम्रा कामहरू यस्तै गलत राजनीतिक व्यवहारका कारण ओझेलमा परेका छन्। देशको विकासमा नै सबै नेपालीको हित लुकेको छ।

पार्टीलाई रगत-पसिना बगाएर साथ दिने कार्यकर्ताको भावना कुनै व्यक्ति विशेषको हालिमुहालीका लागि मात्र पक्कै होइन। त्यसैले अन्धभक्त हुनुको साटो सचेत ‘कमरेड’ र सिर्जनशील नागरिक बनौँ।

भदौ २३ र २४ को घटनालाई लिएर कानुनलाई आफ्नो काम गर्न दिनु र आन्दोलन फिर्ता लिएर पार्टी काममा फर्किनु नै अहिलेको परिपक्वता हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *