नयाँ पुस्ताको ऊर्जालाई प्रगतिमा बदल्ने अवसर
हराएको साँचो सडकको बत्तीमुनि खोजिरहेको एउटा मान्छेको पुरानो कथा छ। एक बटुवाले सोध्छन्, “साँचो कहाँ हराएको हो?” उनी अँध्यारोतिर इसारा गर्दै भन्छन्, “उता।” बटुवा अलमल्ल पर्छन्, “अनि यहाँ किन खोजेको त?” ती मान्छे जवाफ दिन्छन्, “किनभने यहाँ उज्यालो छ।”
यो सामान्य कथा भए पनि यसले गहिरो पाठ सिकाउँछ। हामी अक्सर उत्तर त्यहाँ खोज्छौं जहाँ देख्न सजिलो हुन्छ- त्यहाँ होइन जहाँ वास्तवमा समाधान लुकेको छ। आजको नेपालमा टीभी स्टुडियो, सामाजिक सञ्जालका बहस र झकिझकाउ सभाहलहरू जताततै ‘उज्यालो बत्ती’ जस्तै छन्। यी दृश्यहरू लोभलाग्दा र सहज छन्, तर सुशासनका वास्तविक समस्या र तिनका समाधान त्यहाँ भेटिँदैनन्।
समाधान त नेपालका ती दुर्गम र ओझेलमा परेका ठाउँहरूमा छन् जहाँ नीति र यथार्थको जम्काभेट हुन्छ। अर्थात् गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, धुलाम्य र दुर्घटनाग्रस्त सडक, प्रदूषित हावा, बाँझो जमिन, साना बजार र आम सर्वसाधारणका चुल्होचौकामा।
नयाँ नेतृत्वको हालैको अभिमुखीकरण धेरै अर्थमा उत्साहजनक देखियो। यसले ऊर्जा, उद्देश्य र एउटा सामूहिक लक्ष्यको आभास गरायो। राजनीतिमा पाइला चालेका युवा, शिक्षित र केही गरौं भन्ने हुटहुटी भएकाहरूका लागि समन्वय र साझा दिशा आवश्यक हुन्छ, जुन स्वाभाविक पनि हो।
तर, एउटा सुविधासम्पन्न होटलको हलमा गरिएको त्यो कार्यक्रमले एउटा मौन प्रश्न पनि उठाएको छ—के नेतृत्वको वास्तविक अभिमुखीकरण यहीँबाट सुरु हुनुपर्ने हो? सुशासन सम्मेलन कक्षमा होइन, कार्यक्षेत्र (फिल्ड) मा सिकिन्छ।
अहिलेको यो विशेष मोडको केन्द्रमा रहेका नेतृत्वबारे धेरैमा उत्सुकता र केही चिन्ता पनि छ। राष्ट्रिय स्तरमा बालेन अझै पनि धेरैका लागि रहस्यमय र नखुलेका पात्र हुन्। उनको मौनताले एकातिर आशा जगाएको छ भने अर्कोतिर अन्योल पनि। कतिपयले यसलाई अनुशासन मान्छन् भने कतिपयले विगतका केही घटनालाई लिएर उनको आवेगपूर्ण स्वभावप्रति संशय व्यक्त गर्छन्। यी आलोचना मात्र होइनन्, नयाँ नेतृत्वका लागि परीक्षाका घडी हुन्। यस्तो बेला सुरुवाती संकेतहरूले ठूलो अर्थ राख्छन्।
एउटा बलियो संकेत यस्तो हुन सक्छ- टीभी स्टुडियो र होटलका हलहरू छोडेर गाउँवस्तीतिर लाग्ने।
नयाँ निर्वाचित, शिक्षित तर अझै अनुभव कम भएका नेताहरूलाई फिल्डमा पठाउनुस्। चुनावी सभा वा भाषणका लागि होइन, सुन्न र सिक्नका लागि। उनीहरूलाई स-साना टोलीमा विभाजन गरेर देशभरका गाउँपालिका, स्वास्थ्य चौकी, सरकारी विद्यालय, साना बजार र स्थानीय प्रशासनिक कार्यालयहरूमा पठाउनुस्।
खेतीयोग्य जमिन किन बाँझो छ, स्थानीय सुशासनका निर्णयहरू कहाँ अड्किएका छन्, सार्वजनिक शिक्षाको अवस्था कस्तो छ र साना व्यवसायीले के कस्ता अवरोध झेलिरहेका छन् भन्ने कुरा उनीहरूलाई बुझ्न दिनुस्। आधारभूत स्वास्थ्य सेवाको अभाव, सहरी क्षेत्रका समस्या जस्तै—फोहोर, बिजुली, खानेपानी, दूरसञ्चारको अवस्था र गैरआवासीय नेपालीको लगानीमा रहेका वास्तविक अड्चनहरू उनीहरूले प्रत्यक्ष देखून्। त्यस्तै, स्थानीय सामर्थ्य र क्षेत्रीय सम्बन्धका सम्भावनाहरू पनि उनीहरूले नियालून्।
त्यसपछि उनीहरू फर्कँदा भाषण होइन, एक पानाको संक्षिप्त टिपोट लिएर आऊन्- उनीहरूले के देखे, समस्या कहाँ छ र के कुरा तत्काल सुधार्न सकिन्छ। यो कुनै सांकेतिक अभ्यास मात्र होइन, यो ‘एडप्टिभ गभर्नेन्स’ (अनुकूलन सुशासन) को सुरुवात हो, जहाँ निर्णय गर्नुअघि सिकिन्छ। यसले नागरिक र नीति निर्माताबीच एउटा आवश्यक ‘फिडब्याक लुप’ तयार गर्छ।
पार्टीले विस्तृत घोषणापत्र तयार पारिसकेको होला। तर यस्ता फिल्ड भ्रमण र चौतारीका छलफलले त्यो घोषणापत्रलाई भुइँ यथार्थसँग जोड्ने काम गर्छ। प्रत्येक टोलीले फर्कँदा केवल ज्ञान मात्र होइन, ठोस कानुन बनाउने आधार समेत लिएर आऊन् र संसद्मा ती विषयका प्रखर वक्ता बनेर उभियून्।
दोस्रो संकेत केन्द्रबाटै आउनुपर्छ। बालेनको शक्ति परम्परागत भाषणबाजी नहुन सक्छ, तर आजको नेतृत्वलाई लामो भाषण होइन, निरन्तर र विश्वसनीय सञ्चार आवश्यक छ।
साप्ताहिक रूपमा गरिने सरल, प्रत्यक्ष र सुसंगत सम्बोधनले यो दूरी मेटाउन सक्छ। त्यो भाषण होइन, संवाद हुनुपर्छ—सरकारले के देखिरहेको छ, के सिक्दै छ, कहाँ संघर्ष गरिरहेको छ र अबको योजना के छ?
हल्लाखल्लाको यो समयमा यस्तो नियमित सञ्चारले विश्वासको वातावरण बनाउँछ। मौनताले शून्यता पैदा गर्छ र त्यो शून्यतामा अड्कलबाजी र षडयन्त्रका कथाहरूले ठाउँ पाउँछन्। सञ्चार प्रदर्शन मात्र होइन, यो सुशासनकै एउटा हिस्सा हो।
नेपालले धेरै सुरुवातहरू देखिसकेको छ। कतिपय ठूला आशाहरू बिस्तारै बिलाएर गए। यो समय एउटा पुस्तान्तरणको समय हो, तर ऊर्जा मात्र पर्याप्त छैन। ऊर्जा सिकाइमा र सिकाइ कार्यमा (सुशासन) बदलिएको हुनुपर्छ।
यदि सुरुमै सिक्नुपर्ने कुनै पाठ छ भने त्यो यही हो- उत्तरहरू उज्यालो बत्तीमुनि मात्र नखोज्नुस्। समस्या जहाँ छ, त्यहाँ पुग्नुस्- ती मानिसका मन र चुल्होसम्म पुग्नुस् जसले आशा र परिवर्तनको उत्कट चाहनासहित यो नयाँ शक्तिलाई रोजेका छन्। सुशासन त्यहीँबाट सुरु हुन्छ र यसको विश्वसनीयताको अन्तिम परीक्षण पनि त्यहीँ हुनेछ।
