प्रश्न गर्न मन छ…
खै किन हो,
परदेशीलाई गिज्याइएझैँ लाग्छ
कहिलेकाहीँ।
कसैले भन्थे-
“बिहानै भाले बास्नुअघि
राजनीतिका नानाभाँति कुरा जोडेर
परदेशीलाई बोल्ने अधिकार
कसले दियो?”
हो कि जस्तो लागेर
चुपचाप सहेर बस्यौँ।
तर देश बनाउने हर्कत देख्दा
अलिकति नरम भएर बोल्न थाल्यौँ।
फेरि भनियो-
“देश बनाउने हो भने फर्केर आऊ,
परदेशमा बसेर धेरै जान्ने भएर नबोल।”
त्यो पनि ठिकै लाग्यो,
फेरि चुप लाग्यौँ।
तर अनुभव त बाँड्न पाइन्छ नि
शिष्ट भाषामा आफ्ना कुरा राख्न थाल्यौँ,
विभिन्न माध्यमबाट विकृतिका कुरा उठायौँ।
आज फेरि सुनिन्छ-
“परदेशमा बसेर पत्रकारिता नगर,
जान्ने भएर पत्रकारिता नसिकाऊ,
नेपालमै पत्रकार छन्,
उनीहरूले गर्छन्।”
होला पनि।
तर देश जलाउनमा पत्रकारकै हात भयो भने
प्रश्न उठ्छ-
पत्रकार भएर युट्युब चलाएका हुन्
कि युट्युब चलाएर पत्रकार भएका हुन्?
प्रश्न गर्न मन छ,
तर हामी गर्दैनौँ।
हामी कतै पनि नअटाउने परदेशी
खुरुखुरु काम गर्छौँ,
रगत, पसिना र उमेरसँग साटेर
कमाएका नोटहरू पठाउँछौँ,
त्यही काम लाग्छ।
मरेपछि सायद
राजनीतिलाई लासहरू पनि काम लाग्लान्,
तर हाम्रो भावना भने
तिमीहरूलाई सायद
अर्गेलो नै लाग्नेछ।
फेरि पनि।
