साहित्य महोत्सवको तयारीमा नगर साहित्य प्रतिष्ठान
इलाम । इलाम साहित्य महोत्सवको पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ। नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङका अनुसार आगामी वैशाख १८ र १९ गते हुने यस महोत्सवलाई भव्य बनाउन प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रूपमा काम गरिरहेका छन्।
अध्यक्ष थाम्सुहाङका अनुसार महोत्सवले साहित्यका माध्यमबाट इलामको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। स्थानीय कला, संस्कृति र साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यो महोत्सव एउटा महत्त्वपूर्ण थलो बन्ने विश्वास उनले व्यक्त गरे।
यसपटकको संस्करणमा नेपाल प्रज्ञा प्रतिष्ठान र ललित कला प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरूसँगको सहकार्यले कार्यक्रम थप प्रभावकारी हुने देखिएको छ।
महोत्सवमा हुने विभिन्न सत्रहरू र वक्ताहरूको व्यवस्थापनका लागि आयोजक टोली निरन्तर खटिरहेको छ। इलामको साहित्यिक गरिमालाई उचाइमा पुर्याउन र पर्यटनलाई साहित्यसँग जोड्न थाम्सुहाङले सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन्।
