कोशीका ३ जिल्लामा बर्ड फ्लु पुष्टि : ११ फार्मका हजारौँ कुखुरा नष्ट

विराटनगर । कोशी प्रदेशका मुख्य तीन जिल्ला मोरङ, सुनसरी र झापामा बर्ड फ्लु संक्रमण फैलिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार हालसम्म मोरङ र सुनसरीका ५-५ तथा झापाको १ गरी कुल ११ वटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका फार्महरूमा मोरङको विराटनगरस्थित दाहाल कृषि फार्म, सुन्दरहरैँचाको हलेसी महादेव फार्म, उर्लाबारीको अठियावारी फार्म तथा कटहरीका ए टु जेड र कामख्या पोल्ट्री फार्म रहेका छन्।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिकाका ओको कृषि फार्म, लक्ष्मी पोल्ट्री फार्म, रानी कृषि फार्म, आलम कृषि फार्म र गढी गाउँपालिकाको संगीत कृषि फार्ममा पनि बर्ड फ्लु देखिएको छ। झापाको दमक नगरपालिका-१० स्थित दमक एग्रिकल्चरमा पनि संक्रमण पुष्टि भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सबैभन्दा धेरै ओको कृषि फार्मका ११ हजार २० वटा कुखुरा नष्ट गरिएको छ। संक्रमण देखिएका क्षेत्रहरूमा सरकारी टोलीले ‘स्ट्याम्पिङ आउट’ प्रक्रियामार्फत पन्छी, अण्डा, दाना र अन्य प्रयोग गरिएका सामग्रीहरू नष्ट गरिरहेको छ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. कमल गिरीका अनुसार प्रयोगशालामा शंकास्पद देखिएका नमुनाहरू थप परीक्षणका लागि काठमाडौँ पठाइएको थियो। साउनयता १९८ नमुनामध्ये ४५ वटामा बर्ड फ्लु पुष्टि भइसकेको छ।

पछिल्लो समय बोइलर र लेयर्स कुखुरा मर्ने क्रम बढेपछि किसानहरू चिन्तित बनेका छन्। विराटनगर प्रयोगशालामा दैनिक ५ देखि ७ जना किसानले मरेका कुखुरा परीक्षणका लागि ल्याउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *