नेपालमा क्षयरोग: वार्षिक १६ हजारको मृत्यु, नियन्त्रण गर्न स्रोत अभाव
काठमाडौं । विश्व क्षयरोग दिवसका अवसरमा नेपालको जनस्वास्थ्य क्षेत्रमा क्षयरोग अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको पाइएको छ। हरेक वर्ष मार्च २४ मा मनाइने यो दिवसले नेपालजस्ता विकासोन्मुख देशका लागि चेतावनीपूर्ण सन्देश दिएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनाका अनुसार नेपालमा क्षयरोगका बिरामी घट्नुको साटो बढिरहेका छन्। यो एक घातक सरुवा रोग भएकाले परिवारको एक सदस्यमा संक्रमण भए अरूमा पनि सर्ने जोखिम उच्च रहन्छ। राष्ट्रिय प्रिभ्यालेन्स सर्भेको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब १६ हजार मानिसले क्षयरोगका कारण ज्यान गुमाइरहेका छन्। भौगोलिक विकटता र कतिपय बिरामी सम्पर्कमा नआउने भएकाले यो सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
क्षयरोग नियन्त्रणमा सबैभन्दा ठूलो समस्या बिरामीको पहिचानमा देखिएको छ। सरकारले वार्षिक ६७ हजार बिरामी पहिचान गर्ने लक्ष्य राखे पनि हाल करिब ४० हजार मात्र पत्ता लाग्ने गरेका छन्। बाँकी २७ हजार बिरामी अझै पनि समुदायमै पहिचानबाहिर रहँदा संक्रमण फैलने जोखिम बढिरहेको छ। सामाजिक लाञ्छनाका कारण बिरामीहरू रोग लुकाउन चाहने र परीक्षणका लागि नआउने प्रवृत्ति अर्को बाधक बनेको छ।
उपसचिव तिमल्सेनाले क्षयरोग निवारणका लागि आवश्यक स्रोत र बजेटको चरम अभाव रहेको बताए। पाँच वर्षे रणनीति कार्यान्वयनका लागि आवश्यक बजेटमा झन्डै ४३ प्रतिशत न्यूनता छ। आगामी आर्थिक वर्षका लागि पनि बजेटको सिलिङ घटेर आएकाले गाउँगाउँमा पुगेर बिरामी खोज्न र उपचार गर्न कठिन हुने देखिएको छ। अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग रहे पनि त्यो पर्याप्त नभएको केन्द्रको ठम्याइ छ।
नेपालमा हाल जीन एक्सपर्ट र एआई पोर्टेबल एक्स-रे जस्ता आधुनिक प्रविधि प्रयोगमा ल्याइए पनि देशभर यसको पहुँच पुग्न सकेको छैन। सरकारले औषधि निःशुल्क उपलब्ध गराए पनि कतिपय बिरामीले बीचमै औषधि छाड्ने गरेका कारण रोग थप जटिल बन्ने गरेको छ। केन्द्रले क्षयरोग लुकाउने नभई समयमै उपचार गरेर निको हुने रोग भएकाले सबै पक्षलाई सहकार्यका लागि आह्वान गरेको छ। (नेपाल न्युज बैंक)
