२ घण्टाभन्दा कम ‘स्क्रिन टाइम’ ले बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार

अन्टारियो। क्यानाडाको तथ्याङ्क विभागले गरेको नयाँ अध्ययनले दैनिक दुई घण्टाभन्दा कम समय मोबाइल वा कम्प्युटर जस्ता उपकरण (स्क्रिन टाइम) प्रयोग गर्ने बालबालिकाको स्वास्थ्य र मानसिक अवस्थामा उल्लेख्य सुधार हुने देखाएको छ।

क्यानेडियन पेडियाट्रिक सोसाइटीको निर्देशिका अनुसार ५ देखि १७ वर्षका बालबालिकाका लागि दैनिक दुई घण्टा मात्र स्क्रिन टाइम सिफारिस गरिएको छ।

सन् २०१९ र २०२३ मा एउटै समूहका बालबालिकामा गरिएको अध्ययनअनुसार निर्देशिका पालना गर्ने ९१ प्रतिशत बालबालिकाको स्वास्थ्य अवस्था उत्कृष्ट पाइएको छ।

निर्देशिका पालना नगर्ने बालबालिकामा भने यो दर ८१ प्रतिशत मात्र छ। त्यस्तै, सीमित समय मात्र स्क्रिन प्रयोग गर्ने ८० प्रतिशत बालबालिकाको मानसिक स्वास्थ्य राम्रो रहेको पाइएको छ भने धेरै समय बिताउनेहरूमा ६६ प्रतिशत मात्र मानसिक रूपमा स्वस्थ देखिएका छन्।

अध्ययनले स्क्रिन टाइम कम गर्ने बालबालिकामा टाउको दुख्ने समस्या कम हुने, निद्रा राम्रो लाग्ने र विद्यालयको नतिजा समेत राम्रो हुने देखाएको छ।

निर्देशिका पालना गर्ने ६९ प्रतिशत बालबालिकालाई पछिल्लो ६ महिनामा टाउको दुख्ने समस्या देखिएन भने निर्देशिका पालना नगर्ने ५२ प्रतिशतमा मात्र यस्तो सुधार देखिएको छ।

यसैगरी, धेरै समय स्क्रिनमा बिताउने बालबालिकाहरूमा व्यवहार नियन्त्रण गर्न गाह्रो हुने, नयाँ साथी बनाउन कठिन हुने र चिन्ता (एन्जाइटी) जस्ता समस्याहरू बढी देखिएका छन्।

सुत्नुअघि ओछ्यानमा विद्युतीय उपकरण चलाउने बालबालिकाहरूमा निद्राको समस्या बढी पाइएको रिपोर्टमा उल्लेख छ।

अभिभावकहरूले बालबालिकाको अनलाइन गतिविधिलाई निगरानी गर्दा उनीहरूको सुरक्षा र गोपनीयतामा सुधार हुने समेत अध्ययनले सुझाव दिएको छ।

‘नेपाल टच’ बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *