मध्यपूर्व युद्ध: विश्वभर ऊर्जा सङ्कट चुलिँदै, हवाई र स्थल यातायात प्रभावित
मध्यपूर्वमा जारी युद्ध चौथो हप्तामा प्रवेश गरेसँगै विश्वभरको ऊर्जा आपूर्ति शृङ्खला गम्भीर दबाबमा परेको छ ।
तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसारका लागि विश्वकै महत्त्वपूर्ण मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ खुला गर्ने विषयमा इरानले चासो नदेखाएपछि विश्व बजारमा इन्धनको मूल्य आकासिएको छ ।
ऊर्जाको चर्को मूल्यबाट उपभोक्तालाई जोगाउन विश्वका नेताहरूसँग सीमित विकल्प मात्र बाँकी देखिएका छन् ।
विशेष गरी दक्षिण–पूर्वी एसियाली देशहरू यस सङ्कटको प्रत्यक्ष मारमा परेका छन् । यस क्षेत्रले आफ्नो कुल कच्चा तेलको झण्डै ८० प्रतिशत हिस्सा खाडी मुलुकबाट आयात गर्छ भने २५ प्रतिशत प्राकृतिक ग्यास होर्मुज जलक्षेत्र भएर आउने गर्दछ ।
फिलिपिन्स, भियतनाम र थाइल्यान्ड जस्ता देशहरूसँग इन्धनको सञ्चिति न्यून भएकाले आपूर्तिमा सामान्य अवरोध आउनासाथ त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ ।
इन्धन अभावका कारण लाओसमा ४० प्रतिशत र कम्बोडियामा करिब एक तिहाइ पेट्रोल पम्पहरू बन्द भइसकेका छन् ।
ऊर्जा बचत गर्न फिलिपिन्स र श्रीलङ्काले हप्तामा चार दिन मात्र कार्यलय र विद्यालय सञ्चालन गर्ने नीति लिएका छन् भने पाकिस्तानले दुई हप्ताका लागि विद्यालयहरू बन्द गरेको छ ।
इन्धन सङ्कटको असर हवाई क्षेत्रमा पनि प्रस्ट देखिएको छ । युद्धअघि प्रतिब्यारेल ८५ देखि ९० डलर रहेको जेट इन्धनको मूल्य अहिले २०० डलरसम्म पुगेको छ ।
हवाई इन्धन महँगो र भण्डारण गर्न कठिन हुने भएकाले यसको मूल्य वृद्धिले वायुसेवा कम्पनीहरूलाई ठूलो आर्थिक भार थपेको छ । ‘अमेरिकन एयरलाइन्स’ ले यस त्रैमासिकमा इन्धनकै कारण ४०० मिलियन डलर अतिरिक्त खर्च हुने अनुमान गर्दै उडानहरू कटौती र भाडा वृद्धिको चेतावनी दिएको छ ।
यता अमेरिकी अर्थतन्त्र तेलको मूल्य वृद्धिको झट्का खेप्न सक्षम रहेको दाबी गरिए पनि त्यहाँका उपभोक्ताहरू भने मारमा पर्न थालेका छन् ।
युद्ध सुरु भएयता अमेरिकामा प्रतिग्यालिन पेट्रोलको मूल्य औसत एक डलरले बढेर झण्डै ४ डलर पुगेको छ । इन्धनको यो मूल्य वृद्धिले आगामी दिनमा विश्वव्यापी महँगी अझै बढ्ने र कतिपय देशमा ऊर्जा सङ्कट थप गहिरिने प्रक्षेपण गरिएको छ ।
-मर्निङ ब्रू न्युजलेटर
